
मर्दी हिमाल आधार शिविरमा मानव कंकाल फेला, बेपत्ता स्विडेनका नागरिक लिउ हुन सक्ने
पोखरा, २० साउन/ कास्की मर्दी हिमालको आधार शिविरमा मानव कंकाल फेला परेको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मर्दी हिमालको आधार शिविर नजिकै निगालोको घारीमा मानव कंकाल फेला परेको हो ।
आधार शिविरको मुख्य बाटोभन्दा एक हजार मिटर पूर्वतर्फ मर्दी खोलाको उद्गमाथि रहेको लामडाँडाको खोंचमा दुई वटा हाड, मोबाइल, ट्रयाक र ज्याकेट भेटिएको हो ।
भेडा चराउन गएका गोठालाले कंकाल देखेपछि वडामा खबर गरेको वडाध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले बताए ।
४ हजार ५ सय मिटरको उचाइमा कंकाल देखेपछि वडाध्यक्ष क्षेत्रीले प्रहरीलाई खबर गरेका थिए ।
वडा प्रहरी कार्यालय, बगरबाट प्रहरी निरीक्षक बोधराज रेग्मी नेतृत्वको टोेली आइतबार घटनास्थलतर्फ लागेको छ ।
पोखराबाट आधार शिविर पुग्न दुई दिनको समय लाग्ने वडाध्यक्ष क्षेत्रीले बताए । फेला परेको कंकाल वेपत्ता भएका स्वेडनका नागरिक २२ वर्षीय मिचल लिउ ब्लोम्बर्गको हुनसक्ने बताए ।
लिउ गत पुस १४ गतेदेखि मर्दी हिमाल पदयात्राको क्रममा बेपत्ता थिए । मर्दी हाइ क्याम्पबाट बिहान ४ बजेतिर बेस क्याम्प हिँडेका २२ वर्षीय लिउ बेलुका होटल नफर्किएपछि खोजी सुरु भएको थियो ।
लामो समयसम्म खोजी भएपनि अवस्था अज्ञात रहेको थियो । मोबाइल र ज्याकेटको लोगोेले लिउको कंकाल भएको प्रहरीको भनाई छ ।







