पोखरामा राइड सेयरिङविरुद्ध यातायात व्यवसायी आन्दोलित, केही समय यातायात ठम्प
पोखरा, १२ साउन/ गण्डकी प्रदेशमा आइतबार सार्वजनीक सवारी बन्द गर्ने घोषणा गरेको छ । गण्डकी प्रदेशका यातायात व्यवसायीहरू राइड सेयरिङविरुद्ध आन्दोलित गर्दै यातायात बन्द गर्ने घोषणा गरेको हो । निजी सवारी साधन भाडामा लगाउँदा सार्वजनिक यातायात व्यवसायीलाई धराशायी बनाउन लागेको व्यवसायीहरूको आरोप छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रमबाट राइड सेयरिङलाई वैधता दिने घोषणा गरेको थियो । त्यसैलाई टेवा पुग्ने गरी कार्यविधि निर्माण भएको र मन्त्रिपरिषद् बैठकले पारित गर्न लागेको भन्दै व्यवसायी आन्दोलीत भएका छन् ।
प्रदेश सरकारले सवारी ऐन २०४९ को दफा ८ विपरीत कानुन बनाएर व्यवसायीलाई पीडित बनाएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकीका सचिव योगेन्द्र केसीले फेसबुकमा लेख्दै आन्दोलनको घोषणा गरेका हुन् । उनले सार्वजनिक यातायातका सवारी साधन सरह रातो प्लेटका सवारीले यात्रु ओसारपसार गर्ने नीति कार्यान्वयन गर्दा सार्वजनीक यातायात ध्वस्त हुने बताए ।
यातायात व्यवसायीहरूले साउन १३ गतेदेखि आन्दोलनको चेतावनी दिएका छन् । यातायात व्यवसायीहरूले उनीहरूले ७ बुँदे माग राखेका छन् । गण्डकी सरकारले २ पाङ्ग्रे र ४ पाङ्ग्रे निजी साधनलाई यात्रु ओसारपसार गर्न दिने कार्ययोजना तत्काल खारेज गर्नुपर्ने, श्रम आयोग तत्काल गठन गर्नुपर्ने, सडक सुरक्षा योजना तत्काल लागू गर्नुपर्ने उनीहरूको माग छ ।
यस्तै, यातायात प्राधिकरण गठन गरी यातायात सञ्चालनको कार्यविधि तयार गर्नुपर्ने, वैज्ञानिक भाडादर समयानुकूल समायोजन गर्नुपर्ने, यातायात मजदुर र व्यवसायीको सुरक्षाको ग्यारेन्टी गर्नुपर्ने र भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले गठन गरेको कार्यदललाई क्रियाशील बनाउनुपर्ने माग छ । उनले व्यवसायीको रक्षा राज्यले गर्नुपर्ने बताएका छन् ।