गुरुङ सम्पदा पदमार्ग
सागर राज तिमिल्सिना
पोखरा, ११ साउन/ पर्यटनलाई नयाँ नयाँ गन्तव्यमा लैजाने उद्धेश्यका साथ कास्की, लम्जुङ र मनाङ जोड्ने गरेर पदमार्गको विकास भएको छ । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गरी मुख्य र साहेक पदमार्गको खोजी गरेका छन् ।
पदमार्गले विश्व प्रख्यात अन्नपुर्ण फेरो बाटोको कारण घट्दै गएपछि यहाँका पर्यटन व्यवसायीले नयाँ पदमार्ग खोजी र विस्तारमा लागेका छन् । गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेशले कास्कीको मादी गाउँपालिकाबाट सुरु भई मनाङको चामे गाउँपालिकाको तिमाङ जोडिने गरी मुख्य र साहेक पदमार्गको विकास गरेका छन् ।
उनीहरुले यो पदमार्गको नाम गुरुङ सम्पदा मार्ग राखेका छन् । यो पदमार्गले कास्कीको मादी गाउँपालिका, लम्जुङको क्होलासोँथर गाउँपालिका र मस्र्याङ्दी गाउँपालिका र मनाङको चामे गाउँपालिकामा पर्दछ । पदमार्गको गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री डा.टकराज गुरुङले नक्सा सार्वजनिक सहित घोषणा गरे ।
गुरुङ समुदायको ऐतिहासिक उद्गमस्थल क्होलासोँथरसँगै जोडिएका पुरानो बस्तीसँगै प्राचीन नुन व्यापारिक मार्गलाई यस पदमार्गले समेट्ने गुरुङ पर्यटन व्यवसायी संघ, गण्डकी प्रदेश संघका संस्थापक अध्यक्ष बबरजंग गुरुङले बताए । उनले प्रकृति र संस्कृतलाई पर्यटनसँग जोड्ने यो पदमार्गको संरक्षण, प्रवद्र्धन तथा उपयोगमा राज्य तथा निजी क्षेत्र सबैको सामुहिक प्रयास आवश्यक रहेको बताए ।
गुरुङ सम्पदा पदमार्ग खोज तथा अनुसन्धान टोलीले जेठ २१ देखी ३० गते सम्म स्थलगत अध्ययन अवलोकन गरेको थियो । यो पदमार्गमा एउटा मूल पदमार्ग र एक दर्जन भन्दा सहायक पदमार्गहरुको पहिचान गरेको छ । त्यसमा ५ दिनदेखि १० दिनसम्मका पदमार्गहरु रहेका छन् । पोखराबाट पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपुडाँडा, तप्रो, क्होलासोंथर, ठूलेक, थुर्जु, दुधपोखरी, गुरुङ देउराली (नामुन पास), डाँफेखर्क हुँदै मनाङको तिमाङ पुगेर सकिने पदमार्गलाई मुख्य पदमार्ग रहेको छ ।
त्यसै गरी पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायतका गाउँहरु तथा लमजुङको घलेगाउँ, घनपोखरा, भुुजुङ, सिङदी, पसगाउँ, गिलुङ, घाम्राङ, टक्सार, सिउरुङ लगायतका ठाउँमा पुग्न सकिन्छ । नयाँ पदमार्गले पर्यटकलाई नयाँ गन्तव्य र बसाइ बढाउन सहयोगी हुने ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको अध्यक्ष धर्मराज पन्थीले बताए ।
यो पदमार्ग १६ सय मिटरको उचाइमा रहेको ताङतिङबाट सुरु हुने पदयात्राको उच्च विन्दु भनेको गुरुङ देउराली (नामुन भञ्ज्याङ) ४ हजार ९ सय १० मिटरको उचाइमा पुग्न सकिन्छ । ताङतिङ पछिको सबै बासहरु ३ हजार मिटरभन्दा माथिको उचाइमा पुग्न सकिन्छ । यस पदमार्गमा प्रशस्त मात्रमा खोलाहरु तथा मनोरम पोखरीहरु भेटिन्छन् ।
त्यसमध्ये ४ हजार ५ सय ८५ मिटरको उचाइमा रहेको अध्यात्मिक दुधपोखरी महत्वपूर्ण रहेको छ । पदमार्गबाट विभिन्न हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । विशेष गरेर अन्नपूर्ण, माच्छपुछ«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली, मनास्लु लगायतका हिमालय श्रृंखलाहरुलाई नजिकैबाट अवलोकन गर्न सकिन्छ । यो पर्यटन पदमार्गको प्रचार प्रसारका साथै विकास गर्न आवश्यक छ ।
=================================================
सडक सञ्जालको विकाससँगै पर्यटकीय पदमार्गहरु छोटिंदै र खुम्चिदै गइरहेको बेला गुरुङ सम्पदा पदमार्गले नयाँ आशा जगाएको छ । विशेष गरेर विश्वकै उत्कृष्ट मध्येको अन्नपूर्ण चक्रीय पदमार्गलाई पुनः व्यूताउन सकिने संभावनालाई यस पदमार्गले उजागर गरेको छ । कास्कीको मादी गाउँपालिकाभित्र पर्ने तोंनीनासा (ताङतिङ) बाट सुरु भएर दश दिनमा मनाङको
चामे गाउँपालिकास्थित तिमाङमा पुगेर पुरा हुने यस गुरुङ सम्पदा पदमार्गको मिति २०८१ जेठ २१ देखि ३० गतेसम्म गुरुङ पर्यटन व्यवसायी संघ, नेपाल (जिटिन) गण्डकीको आयोजनामा खोज तथा अनुसन्धान कार्य सम्पन्न गरेको थियो ।
पदमार्ग योजनामा काम गरिरहेका इञ्जिनियरहरु, अन्वेषकहरु, जीपीएस एक्सपर्ट, सञ्चारविज्ञ, जिटिनका पदाधिकारीहरु, पर्यटक पदप्रदर्शक तथा सहयोगीहरुसहित ३३ जनाको समुहले गरेको यस खोज तथा अनुसन्धान कार्यले यस पदमार्ग सफल हुने संभावना उच्च रहेको निष्कर्ष निकालेको छ । साथै पदमार्गमा गर्नुपर्ने सुधार तथा निर्माण कार्यहरुको विस्तृत परियोजना
प्रतिवेदन पनि तयार पारेको छ ।
प्रकृति, संस्कृति र इतिहासको संगमको रुपमा रहेको यस पदमार्गले पदयात्रामा जाने जो कोहीलाई पनि मोहित बनाउन सक्ने देखिएको छ । त्यसैले यसको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई असर नपर्ने गरी, प्राकृतिक सुन्दरता र जैविक विविधतालाई हानी नुपुग्ने गरी पर्यटकीय पदमार्गको विकास र प्रवद्र्धन गर्नुपर्ने हाम्रो जोड रहेको छ । यस पदमार्गका केही
विशेषता निम्न अनुसार रहेका छनः
ऐतिहासिक पक्ष
यस पदमार्गले दुई वटा ऐतिहासिक विरासत बोकेको छ । पहिलोः यस पदमार्गको बाटो भएर गण्डकी प्रदेशको एक प्रमुख आदिवासी समुदाय तमू (गुरुङ) का पूर्खहरु अहिलेको बस्तीहरुमा फैलिएको भन्ने भनाई रहेको छ । यस भनाई गुरुङको पेले मात्र हाृेइन, क्होलासोंथरमा विभिन्न चरणमा देशी तथा विदेशी बिशेषज्ञहरुले गरेको पुरातात्विक अध्ययनहरुले पनि प्रमाणित
गरिसकेको छ । क्होलाको पुरातात्विक महत्वका भग्नावशेषहरुको संरक्षण गरेर पर्यटकीय क्षेत्रको रुपका विकास गर्न सकेको खण्डमा स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षण गर्न सकिने छ ।
त्यसै गरी दोस्रो ऐतिहासिक विरासतको रुपमा कास्की र लमजुङका गुरुङ गाउँहरुमा अझै पनि मनाङ भोटको नुन बोक्दाका कथा व्यथाहरु सुन्न पाइन्छ । अहिले खोज तथा अनुसन्धान कार्य गरिएको गुरुङ सम्पदा पदमार्ग नै उक्त नुनको व्यापारिक बाटो रहेको कुरा पनि उजागर भएको छ । अझै पनि पदमार्गमा भेटिने लामा लामा विसौनी चौतारीहरु त्यही नुनको व्यापारिक
मार्गको साक्षी बनिरहेका छन ।
भौगोलिक अबस्था र प्राकृतिक सुन्दरता
यस पदमार्गको भौगोलिक अबस्था पहाडी, उच्च पहाडी तथा हिमाली क्षेत्र रहेको छ । करिब १६०० मिटरको उचाइमा रहेको ताङतिङबाट सुरु हुने पदयात्राको उच्च विन्दु भनेको गुरुङ देउराली (नामुन भञ्ज्याङ) ४९१० मिटरको उचाइमा रहेको छ । ताङतिङ पछिको सबै बासहरु ३ हजार मिटरभन्दा माथिको उचाइमा हुन्छ । यस पदमार्गमा प्रशस्त मात्रमा खोलाहरु
तथा मनोरम पोखरीहरु भेटिन्छन । त्यसमध्ये ४५८५ मिटरको उचाइमा रहेको अध्यात्मिक दुधपोखरी महत्वपूर्ण रहेको छ ।
ठाडै उकालो र ओरालो कम मात्र रहेको यस पदमार्गमा ठूला ठूला खर्क र पाटनहरु रहेका छन । साथै यस पदमार्गबाट विभिन्न हिमश्रृंखलाहरुको अवलोकन गर्न सकिन्छ । विशेष गरेर अन्नपूर्ण, माच्छपुछ«े, लमजुङ, हिमलुङ, गणेश, हिमालचुली,
मनास्लुलगायतका हिमालय श्रृंखलाहरुलाई नजिकैबाट अवलोकन गर्न सककिन्छ ।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरु
यस पदयात्राको अर्को महत्वपूर्ण पक्ष भनेको ऐतिहासिक तथा सांस्कृतिक सम्पदा हो । यस पदमार्गको प्रवेश विन्दू र समाप्तिमा गुरुङ गाउँहरु पर्दछन । ती गाउँहरुमा घरवासहरु सञ्चालनमा रहेका छन भने घाँटु, सोरठी, कृष्ण चरित्र, आमा समुहका नाचहरु प्रचलनमा रहेका छन । त्यसका साथै गुरुङ समुदायको गाउँ, बसोबास तथा रहनसहन पनि पर्यटकको
लागि आकर्षणको रुपमा रहेका छन ।
त्यति मात्र होइन, माथि नै चर्चा गरिएको गुरुङ समुदायको पूर्खाहरु यही बाटो भएर अहिलेको स्थानहरुमा आएको हुँदा त्यससँग सम्बन्धित स्थान तथा किंबन्दतीहरु प्रशास्त मात्रमा सुन्न र हेर्न पाइन्छ । त्यसै मध्येको सबैभन्दा पछिल्लो अदिम बस्तीको रुपमा क्होलासोथर पुरातात्विक रुपमा नै प्रमाणित स्थान हो । त्यस्तै गरेर परापूर्वकालमा मनाङ भोटको नुन बोक्ने बाटो पनि
यही हो । उक्त नुन व्यापारसँग जोडिएका कथाहरु तथा त्यस बेला बनेका धर्मशाला र बिसौनीका भग्नावशेषहरुले इतिहासलाई बोकेको छ । यति मात्र होइन, यो पदमार्गमा कास्की, लमजुङ र मनाङका भेडा, गाई, भैसी तथा चौरीको गोठ बस्ने खर्कहरु रहेका छन । गोठालाहरुको रहन सहन पनि यस पदमार्गमा देख्न र अनुभव गर्न पाइने साँस्कृतिक पक्ष हुन ।
धनी जैविक विविधता
यो पदमार्ग जैविक विविधताले पनि भरिपूर्ण रहेको छ । पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र गरी तीनै तहको उचाइ र हावापानीमा पाइने बनस्पति, जीवजन्तु तथा चराचुरुंगीहरु यस पदमार्गका आकर्षण हुन । उच्च पहाडी तथा हिमाली क्षेत्रमा पाइने उच्च औषधीय गुणयुक्त यार्सागम्ब, जटामसी, सतुवा, पाँच औले, वन लसुन जस्ता जडिबुटीहरु यस पदमार्गमा प्रशस्त
पाइन्छन । साथै बाटैभरी भेटिने हावापानी अनुसारका लाली गुरासलगायतका लेकाली फुलको सुगन्धले मनै प्रफुल्ला बनाउँछ । त्यसै गरेर डाँफे, मुनाललगायतका चराचुरुङगीहरुको पदमार्गको अर्को आकर्षण हुन । चराहरुको चिरविर सुन्दै जंगल, खर्क र हिमाली समथर पाटनहरुमा यात्रा गर्न पाइन्छ ।
पहिचान गरिएका पदमार्ग
गुरुङ सम्पदा पदमार्ग खोज तथा अनुसन्धान टोलीले एउटा मूल पदमार्ग र एक दर्जन भन्दा बढी आवश्यकता र चाहना अनुसार सञ्चालनमा ल्याउन सकिने सहायक पदमार्गहरुको पहिचान गरेको छ । त्यसमा ५ दिनदेखि १० दिनसम्मका पदमार्गहरु रहेका छन । पोखराबाट पर्यटकीय गाउँ ताङतिङ हुँदै क्रपुडाँडा, तप्रो, क्होलासोंथर, ठूलेक, थुर्जु, दुधपोखरी, गुरुङ देउराली (नामुन पास), डाँफेखर्क हुँदै मनाङको तिमाङ पुगेर सकिने पदमार्गलाई मुख्य पदमार्गको रुपमा पहिचान गरेको छ । यसमा साथै यही पदमार्गमा कास्कीका सिक्लेस, याङजाकोट, नागिधार, थाकलगायतका गाउँहरु तथा लमजुङको घलेगाउँ, घनपोखरा, भुुजुङ,
सिङदी, पसगाउँ, गिलुङ, घाम्राङ, टक्सार, सिउरुङलगायतका गाउँहरुबाट सुरु गरेर यिनै मध्येका विभिन्न गाउँहरुमा आवश्यकता र चाहना अनुसार समाप्त गर्न सकिने छाटो तथा लामो दुरीका पदमार्गलाई प्रयोगमा ल्याउन सकिन्छ ।
पदमार्गमा गर्न सकिने अन्य गतिविधिहरु
यस पदमार्गलाई पदयात्राको लागि मात्र होइन, अन्य साहसिक पर्यटकीय गतिविधिहरु पनि विकास गर्न सकिने प्रशस्त संभावना रहेको छ । पोखराको सारङकोटबाट भइरहेको सोलो प्याराग्लाइडिङ नयाँ एयरपोर्ट बनेपछि हवाई मार्गका कारण बिस्थापित भएको छ । उपयुक्त स्थानको अभावमा ती गतिविधिहरु भारतको हिमाञ्चल प्रदेशतिर स्थानन्तरण भएका छन । त्यसलाई फर्काउनको लागि यसै पदमार्गमा पर्ने क्रपुडाँडा उपयुक्त हुने कुरा प्याराग्लाइडिङको क्षेत्रमा काम गरिरहेकाहरुले सुझाएका छन ।
त्यसैगरी ठूलेक लगायतका हिउँदमा बाक्लो हिउ पर्ने विशाल हिमाली पाटनहरुमा स्की खेलको संभावनालाई पनि अध्ययन गरिनु पर्ने टोलीका सदस्यहरुको भनाई रहेको छ । साथै पदमार्ग संगै जोडिएर विभिन्न स्थानमा ६ हजार मिटरभन्दा कम उचाई दर्जनौं हिमालहरु रहेकाले त्यस्ता हिमालय पीकहरुमा आरोहण तालिमको संभावना रहेको पनि निक्र्यौल निकालेको छ ।
पदमार्गको विकास तथा प्रवद्र्धनका लागि सिफारिसहरुः
गुरुङ सम्पदा पदमार्गको विकास तथा प्रवद्र्धनका लागि खोज तथा अनुसन्धान टोलीले निम्न
अनुसार सिफारिसहरु गरेको छः
– पदमार्गमा ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरुको रहेको तथा जैविक विविधताको भरिपूर्ण रहेकाले ती ऐतिहासिक तथा प्राकृतिक सम्पदाहरुमा पर्न सक्ने नकरात्मक असरहरुलाई मध्यनजर गरी बिस्तृत गुरु योजना बनाएर त्यसै अनुसार
पदमार्गको विकास तथा प्रवद्र्धन गर्नुृ पर्दछ ।
– संघ, प्रदेश र स्थानीय तीनै सरकारले यस पदमार्गमा भविश्यमा सडक सञ्जालको विस्तार नगरी पदमार्गकै रुपमा विकास गर्ने प्रतिबद्धता जनाउनु पर्दछ ।
– यस पदमार्गको केही स्थानहरुमा बाटो मर्मत गर्नुपर्ने, केही खोलाहरुमा झुलुङगे पुल हाल्नु पर्ने, केही स्थानहरुमा बाटोमा रेलिंग हाल्नु पर्ने देखिएकोले त्यसतर्फ यथाशिघ्र स्रोतको व्यवस्थापन गर्नु पर्दछ ।
– यस पदमार्गमा होटलहरुको व्यवस्था नभएको कारण सेल्टर हाउसहरु बनाउनु पर्ने देखिएको छ । त्यस्ता सेल्टर हाउसहरु हावापानी र स्थानीय संस्कृति अनुरुपमा बनाउनु पर्दछ ।
– पदमार्गको सूचना पाटीहरु कतिपय विग्रिए भत्किएको अवस्थामा रहेको तथा कतिपयमा गलत सूचना समेत रहेको भेटिएको हुँदा सूचना पाटीहरु, पथप्रदर्शन गर्ने पोलहरुलाई मर्मत तथा नयाँ स्थापना गर्नु पर्दछ ।
– जलवायु परिवर्तनलगायतका विभिन्न कारणहरुले गर्दा पानीका मुहानहरु सुक्ने तथा भएको मुलहरु पनि सानो भएको हुँदा ती मुलहरुको संरक्षण तथा आवश्यक स्थानमा पानीको स्थायी व्यवस्था गर्नु पर्दछ ।
– पदमार्गमा रहेका क्होलासोंथरलगायतका पुरातात्विक महत्वका क्षेत्रहरुको उत्खनन र संरक्षणको लागि विशेष ध्यान दिइनु पर्दछ । त्यस क्षेत्रमा रहेका पुरातात्विक बस्तुहरुको सुरक्षाका लागि बिशेष पहल गरिनु पर्दछ ।
– पदमार्गको प्रवेश विन्दूको रुपमा रहेका गाउँहरुमा रहेको साँस्कृतिक अवयवहरु लोप हुने अवस्थामा रहेको हुनले तिनीहरुको संरक्षण र पुनःस्थापनाका लागि विशेष पहल गर्नु पर्दछ । भीर माउरीको मह काढने, राडीपाखीहरु बुन्ने तथा पशुपालनलायतका
परम्परागत पेशा र जनजीवनलाई पर्यटकीय गतिविधिसँग जोडेर विकास गर्नको लागि पहल थाल्नु पर्दछ ।
– पदमार्गमा पशु चौपायहरु हिंडेमा त्यसले पदमार्गलाई छिटो विगार्ने भएकोले पशु चौपायहरुको लागि छुटटै बाटोको व्यवस्था गर्नु पर्दछ ।
– स्थानीय गाउँ बस्तीका बासिन्दाहरु तथा पदमार्ग क्षेत्रमा रहने गोठका गोठालाहरुलाई पर्यटकमैत्री बनाउने लगायतका क्षमता अभिबृद्धिका लागि तालिमहरुको व्यवस्था गर्नु पर्दछ ।
– पदमार्गको प्रवद्र्धनका लागि समय समयमा व्यवसायी, पथप्रदर्शक तथा सञ्चारकर्मीहरु सम्मिलित जानकारीमूलक अवलोकन भ्रमण गराउनु पर्दछ ।