
सौर्य एयर दुर्घटनाः एकै परिवारका तीन जनाको मृत्यु
पोखरा, ९ साउन/ बुधबार भएको सौर्य एयरलायन्सको विमान दुर्घटनामा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । सौर्य एयरलायन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती प्रिजा खतिवडा र ४ बर्षका छोरा अधिराज शर्माको मृत्यु भएको हो ।
पोखरा घुम्न जाने भएपछि मनुराजले ससुरा प्रकाश खतिवडालाई फोन गरेर श्रीमती र छोरालाई लैजाने बताएका थिए । पोखरामा सपरिवार घुमेर फर्किने मनुराजको चाहना थियो ।
मनुराजले सपरिवार पोखरा जाने इच्छा व्यक्त गरेपछि ससुरा प्रकाशले छोरी र नातिलाई विमानस्थल पु¥याइदिएका थिए ।
छोरी र नातिलाई विमानस्थल पु¥याएर घर फर्किरहेका प्रकाशले बाटोमै विमान दुर्घटना भएको समाचार सुनेका थिए ।
घटनाले ससुरा प्रकाश र उनको परिवार शोकमा डुबेको छ । उनकी छोरी प्रिजा ऊर्जा मन्त्रालयमा सहायक कम्प्युटर अपरेटर पदमा कार्यरत थिइन् ।
बुधबार विहान ११ः११ बजे पोखराका लागि उडान भर्ने क्रममा सौर्य एयरलायन्सको जहाज दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।
जहाजका पाइलट मनिष शाक्यको उद्धार गरिएको थियो । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ । विमान उड्ने बितिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर दुर्घटनाग्रस्त भएको थियो ।