
पथ प्रदर्शकलाई वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम
पोखरा, ७ साउन/ ट्रेकिङ एजेन्सिज एशाेिशयसन अफ नेपाल (टान) गण्डकीको आयोजनामा पथ प्रदर्शकलाई ३ दिने वन्यजन्तु, प्राथमिक उपचार, ट्रेल नेभिगेसन र उद्धार तालिम दिएको छ । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनासँगको सहकार्यमा तालिम भएको हो ।
तालिम समापन कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले तालिमले पथ प्रदर्शकलाई फूलचार्ज गराएको बताए । उनले ट्रेकिङका पथप्रदर्शक पर्यटनको ऐना भएको बताए ।
पथप्रदर्शकले पर्यटकमाथि जस्तो व्यवहार गर्छ, त्यो पर्यटकले आफ्नो देश फर्केर त्यस्तै प्रतिक्रिया जनाउने बताउँदै उनले भने,‘यहाँ तपाईंहरुले राम्रो गर्नुभयो भने उसले आफ्नो देश फर्केर नेपालको गुणगान गाउँछ, होईन, तपाईंले नराम्रो गर्नुभयो भने नराम्रो भन्दै हिंड्छ र देशको बेईज्जत हुन्छ ।’ त्यसैले पथप्रदर्शक पर्यटनको व्याकबोनसमेत भएको उनको भनाई छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले तालिमपश्चात दक्ष जनशक्तिको अभाव नहुने बताए । पर्यटन प्रवद्र्धनका लागि पोखरा महानगरपालिकाले सक्दो पहल गरिरहेको भन्दै यसले पर्यटक बढ्ने उनको विश्वास छ । पोखरालाई पर्यटनको राजधानी घोषणादेखि अन्र्तराष्ट्रिय विमानस्थल निर्माणसम्मका काम भएका छन्,उनले भने,‘यसले अवश्यपनि पर्यटक बढाउँछ । त्यसका लागि यो तालिमले दक्ष जनशक्ति उत्पादन गरेको छ भन्ने मैले विश्वास लिएको छु ।’
नेपाल पर्यटन वोर्डका पूर्व वोर्ड सदस्य तथा टान गण्डकीका पूर्व अध्यक्ष टीकाराम सापकोटाले ट्रेकिङ रुट नबिगार्ने तर रुट थप्दै जाने गर्नुपर्ने बताए । उनले ट्रेकिङका स्वरोजगार कम्पनीलाई राज्यले कर छुट दिनुपर्नेमा जोड दिए । टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले पथप्रदर्शनका क्रममा आउने व्यवहारिक कठिनाई हटाउने ज्ञान थप्न तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे ।
काम गरिरहेका पथ प्रदर्शकले पदयात्राका क्रममा भोगेका समस्या समाधान गर्न सिकाउने उद्देश्यले आयोजित तालिममा ९० जनाको सहभागिता रहेको थियो । तालिममा पदयात्राका क्रममा वन्यजन्तु भेटिदा अप्नाउनुपर्ने सावधानी, आक्रमण भइहालेमा बच्ने उपाय, आफू वा पाहुना पर्यटक घाइते भएमा गरिने प्राथमिक उपचार, दुर्घटनामा वा वन्यजन्तुको आक्रमणबाट घाइते भएकाको उद्धार साबधानीबारे तालिम दिइएको टान गण्डकीका उपाध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । पुर्नताजगी तालिम भएकाले पदयात्रामा दशकौंदेखि काम गरिरहेका पथप्रदर्शकहरु सहभागि रहेको उनले बताए ।
तालिममा नेभिगेसन र म्याप रिडिङबारे विज्ञ प्रेम गुरुङ, वन्यजन्तु सम्बन्धि एक्यापका आयोजना प्रमुख डा. रवीन कडरिया, उद्धारबारे सशस्त्र प्रहरी बल कालिका गण पोखराका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) अरुण शर्मा, प्राथमिक उपचार सम्बन्धि प्रदेश स्वास्थ्य निर्देशनालयका नवराज शर्मा, हाईअल्टिच्यूड तथा मौषम परिवर्तनसँगै अप्नाईनुपर्ने सतर्कताबारे माउण्टेन गाईड तथा सो विषयमा अध्यापनरत जगन तिमिल्सिना, शेषकान्त शर्मालगायतले सहजीकरण गरेको टान गण्डकीका सचिव तीर्थराज सुवेदीले जानकारी दिए ।





