एमाले र काग्रेसबाट सरकारमा जाने मन्त्रीहरु को को

-


     क्लिक गण्डकी     
     असार ३२ गते २०८१ मा प्रकाशित


पोखरा, ३१ असार/ सत्तारुढ दल नेकपा एमालेले सरकारमा सहभागी हुने ८ जना मन्त्रीको टुंगो लगाएको छ । शीर्ष नेताहरुको बैठकले मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिने तय भएको एमाले स्रोतको भनाई छ ।
मन्त्री बन्ने अन्य नेताहरूमा उपमहासचिव पृथ्वीसुबबा गुरुङ, सचिवहरू योगेश भट्टराई र छविलाल विश्वकर्मा छन् । त्यस्तै कृष्णगोपाल श्रेष्ठ, जुलीकुमारी महतो, विद्या भट्टराई र दामोदर भण्डारी पनि एमालेबाट मन्त्री बन्ने तय भएको छ ।

उनीहरूले पाउने मन्त्रालयको बारेमा अझै केही बताइएको छैन । शपथ ग्रहणको बेलासम्म केही नाम र जिम्मेवारी हेरफेर हुनसक्ने भएकाले सार्वजनिक नगरिएको एमालेका एक नेताले बताए ।

त्यसै गरी नेपाली कांग्रेसका नेताहरु मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउने छलफलमा जुटेका छन् । अहिले सम्म पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकारमा कांग्रेसको नेतृत्व गर्नेछन् । उनको मन्त्रालय टुङ्गीएको छैन ।

कांग्रेसबाट रमेश लेखक गृहमन्त्री हुने छन् । आरजु देउवा राणा परराष्ट्रमन्त्री हुनेछन् । अजय चौरसिया कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा चर्चा छ । दिपक खड्का, ऐनबहादुर शाही, किशोर सिंह राठोर र दिपक गिरीको नाम छलफलमा छ । दिपक खड्का र गिरीमध्ये एक तथा ऐनबहादुर शाही र किशोर सिंह राठोरमध्ये एक मन्त्री हुने सम्भावना छ ।

मन्त्रीमा तेजुलाल चौधरीको पनि नाम टुंगो लागेको छ । शेखर–गगन समूहले तेजुलाल बाहेक थप चार मन्त्री आफूहरुले पाउनुपर्ने दाबी गरेको छ । चार मन्त्री पाएको अवस्थामा सहमहामन्त्री जीवन परियार र सांसदहरु प्रदीप पौडेल, हृदयराम थानी र रामनाथ अधिकारीलाई पठाउने तयारी गरेको थियो ।

एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि, व्यवस्था तथा सहकारी, शिक्षा, विज्ञान तथा प्रविधि र सञ्चार तथा सूचनाप्रविधि मन्त्रालय पाएको छ ।

नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास, स्वास्थ्य तथा जनसंख्या, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, वन तथा वातावरण र कानुन, न्याय तथा संसदीइ मामिला पाएको छ ।