
‘माउन्टेन टुरिजम म्यानेजमेन्ट शिक्षाले दक्ष जनशक्ति उत्पादन गरेको छ’
पोखरा, ३१ असार/ पोखरामा पर्वतीय पर्यटन शिक्षा महत्वपूर्ण रहेकोमा जोड एक कार्यक्रमका बक्ताहरुले जोड्दिएका छन् । जनप्रिय बहुमुखी क्याम्पसले आयोजना गरे ‘पर्यटकीय राजधानीमा पर्यटन शिक्षा’ विषयक अन्तरक्रियाका सहभागीहरूले पर्वतीय पर्यटन शिक्षा र रोजगारी तत्कालै पाउनेमा जोड दिए ।
अन्तरक्रियामा अवधारणापत्र प्रस्तुत गर्दै उपप्राध्यापक दीपेन्द्र पहारीले पोखरालाई आधार बनाएर अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, पुनहिल, घोरेपानी लगायत स्थानमा पर्यटक जाने भएकाले यी सबै पर्यटकीय गतिविधिले पोखरालाई पर्यटनमा प्रत्यक्ष प्रभाव पार्ने बताए ।
उनले पोखरासहित समग्र गण्डकी प्रदेश पर्वतीय पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको बताए । सन् १९५० जुन ३ मा फ्रान्सेली नागरिक मोरिस हर्जोग र उनको टोलीद्वारा अन्नपूर्ण हिमाल आरोहण भएको थियो । त्यसपछि पोखरा अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारका रूपमा स्थापित भएको बताउँदै पहारीले अन्नपूर्ण क्षेत्रको प्रवेशद्वारका रूपमा पोखरामा पर्वतीय पर्यटन र ट्रेकिङका लागि धेरै अवसरहरू रहेको बताए ।
पर्वतीय पर्यटन शिक्षा केवल शैक्षिक कार्यक्रमहरूमा मात्रै सीमित नरहेको बताउँदै उनले पर्यटन प्रणालीको विकास र प्रवद्र्धनसँग सम्बन्धित रहेको बताए । उनले सन् २०१९ मा नेपाल भ्रमण गर्ने ९ लाख पर्यटकमध्ये करिब ४ लाख ८० हजार पर्यटक पोखरा आएका थिए । त्यसमध्ये ६५ प्रतिशत पर्यटक ट्रेकिङका लागि आएका बताए ।
पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटन क्षेत्रमा १ सय ९२ अर्बभन्दा बढी लगानी भइसकेको तथ्याङकमा रहेको उल्लेख गरे । पहारीका अनुसार पोखरामा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पर्यटन क्षेत्रमा संलग्नमध्ये ४० प्रतिशत मानिस ट्रेकिङ गाइड, होटल व्यवसाय र साहसिक खेलकुदमा कार्यरत रहको बताए ।
जनप्रिय बहुमुखी क्याम्पस पोखराले त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्वायत्त कार्यक्रमका रूपमा ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट सञ्चालन गर्दै आएको छ । उनले पर्वतीय पर्यटन शिक्षाको माध्यमबाट पर्यटनको राजधानी पोखरालाई क्याम्पसले थप योगदान दिने बताए । पर्वतीय पर्यटन शिक्षाले प्रशिक्षित जनशक्ति उत्पादन गर्ने विश्वास लिइएको क्याम्पस प्रमुख रमेश खड्काले बताए ।
संस्कृति र वातावरण संरक्षण, रोजगारीका अवसर सिर्जनामा योगदान पुग्ने विश्वास खड्काको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेले ३३ वर्षअघि विसं २०४८ मा स्थानीयस्तरबाट ५० विद्यार्थी र १० शिक्षकबाट सुरु गरिएको क्याम्पसले समयसापेक्ष विभिन्न तहमा अध्यापन गराउँदै आएको बताए । क्याम्पसको स्वायत्त कार्यक्रम संयोजक दिव्यालक्ष्मी चालिसले २०७४ देखि सञ्चालन गरिएको बताए । ब्याचलर इन माउन्टेन टुरिजम म्यानेजमेन्ट’ अध्यापनबाट हालसम्म ५७ जना जनशक्ति तयार भएको जानकारी दिए ।