
एनआइसी एसिया बैंकले मास्टरकार्ड सेवा शुरु
पोखरा, १६ असार/ एनआईसी एसिया बैंक लिमिटेडले नेपालका ग्राहकका लागि मास्टरकार्ड डेविटकार्ड प्रयोगमा ल्याएको छ ।
पोखरामा आइतबार आयोजित कार्यक्रममा मास्टरकार्ड भारतका प्रतिनिधि आस्था प्रियादर्शीले बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्मालाई मास्टरकार्ड हस्तान्तरण गर्दै बैंकले मास्टरकार्डलाई औपचारिक प्रगोगमा ल्याएको हो ।
अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यमा सो सुविधा थप गरिएको बैंकका गण्डकी प्रमुख दीपेन्द्र शर्माले जानकारी दिए ।
यसबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टर डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी ग्राहकले एनआइसी बैंकको पस टर्मिनलमार्फत भुक्तानी गर्न तथा एटिएम मेसिनबाट नगद निकाल्न र मौज्दात सोधपुछको सुविधा लिन सक्ने उनले बताए ।
मास्टरकार्ड इन्डियाका प्रतिनिधि पवन शेखले मास्टरकार्ड ग्लोवल टेक्नोलोजीको रुपमा विकास भएको बताए । पोखरालाई सरकारले पर्यटनको राजधानी घोषणा गरेका कारण बैंक पोखरा आएको बताएको छ । त्यसो त यसको नेपाल, भारत र भुटानमा सहज प्रयोग गर्न सकिन्छ ।
पर्यटकलाई लक्षित गरिएकोले पोखराबाट उद्घाटन गरेको बैंकका डिजिटल बैंकिङ प्रमुख नरेन्द्र मैनालीले बताए । यो कार्ड अमेरिकन र युरोपियन पर्यटकले बढी प्रयोग गर्ने उनको भनाई छ ।
नेपालमा मास्टर कार्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रहेको र खासगरी होटल, रेष्टुरेन्ट, पर्यटनजस्ता सेवामूलक क्षेत्रमा मास्टरकार्ड प्रयोगकर्ताको सङ्ख्या धेरै भएकोले बैंकले मर्चेन्ट भुक्तानी सेवामा थप टेवा पु¥याएको बैंकले जनाएको छ ।
बैंकले देशभर ३१९ शाखा कार्यालय ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउन्टर एवं ६१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा दिँदै आएको छ ।