गण्डकी प्रदेशबाट एसईईमा ३० जना विद्यार्थीलाई ४ जिपिए (कुन कुन विद्यालयबाट)

-


     क्लिक गण्डकी     
     असार १५ गते २०८१ मा प्रकाशित


मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए

मदरल्याण्ड माविका १० विद्यार्थीलाई ४ जिपिए

पोखरा, १४ असार/ एसईई २०८० को परीक्षाफल अनुसार गण्डकी प्रदेशका ३० विद्यार्थीले ४ जिपिए ल्याएका छन् । गण्डकीका ११ जिल्ला मध्ये ६ जिल्लाबाट २८ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । कास्कीबाट २१, लमजुङबाट ३, नवलपुरबाट २, गोरखा, तनहुँ, स्याङ्जा र पर्वतका १/१ विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । देशभरबाट जम्मा १ सय ८६ विद्यार्थीले सर्वोत्कृष्ट नतिजा ल्याएका थिए ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा कास्कीका २१ विद्यार्थीले ४ जिपिए ल्याएका छन् । मदरल्याण्डका १०, डिज्नील्याण्डका ३, गण्डकीका २, शान्ति निकेतन, बालोदय, सृजना बोडिङ स्कुल, सैनिक आवासीय, न्यासनल इन्भेन्टिभ, एसओएसका १ १ जना विद्यार्थीले ४ जिपिए ल्याएका हुन् ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)–२०८० को नतिजामा मदरल्याण्ड माविका १० जना विद्यार्थीले ४ जिपिए ल्याउन सफल भएका छन् । पोखरा ७ मासबारस्थित मदरल्याण्डको यो नतिजा हालसम्म प्राप्त विवरणअनुसार नेपालमै उत्कृष्ट हो ।

नेपालभरबाट मात्र १८६ जनाले ४ जिपिए ल्याएका हुन् । ४ जिपिए ल्याउनेमा कृपा बराल, रेडियस पोख्ररेल, कनक अधिकारी, अपेक्षा ढुंगाना, आशीष बस्ताकोटी, कृपा गुरुङ, इक्वीटी पौडेल, अभ्यास वाग्ले, युनिका ढकाल र समीक्षा पहारी छन् ।

विद्यालयबाट १४६ जना परीक्षार्थीले भाग लिएकोमा ३.६० देखि ४ जिपिएसम्म ल्याउने १२८ जना र ३.२० देखि ३.६० सम्म ल्याउने १८ जना रहेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।

गत वर्ष एसइईमा २ जना विद्यार्थी सुदेश आचार्य र जोन रानाले पनि ४ जिपिए ल्याएका थिए । त्यसबेला कास्कीबाट मात्र ३ जनाको ४ जिपिए आएको थियो ।

२०७५ सालको एसइईमा ७ जनासम्म विद्यार्थीको ४ जिपिए आएको थियो । त्यसयता सबैभन्दा धेरै १० जनाको यसपालि ४ जिपिए आएकोमा विद्यालय परिवार निकै खुसी भएको प्राचार्य नारायण बराल बताए ।

मदरल्याण्डले हरेक वर्षजसो उत्कृष्ट नतिजा ल्याउँदै आएको छ । गत वर्ष कक्षा १२ को बोर्ड परीक्षामा समेत ३ जना विद्यार्थीले नेपाल टप गरेका थिए । व्यवस्थापन संकायका राजेश पौडेल, विज्ञान संकायका जीवन अधिकारी र कृतिका थापा गरी ३ जनाले नेपालमै उत्कृष्ट ३.९६ जिपिए ल्याएपछि विद्यालयले उनीहरुलाई जनही २ लाखसहित पुरस्कृत गरेको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए ।

डिज्नील्याण्ड एकेडेमीका ३ छात्रालाई ४ जिपिए

पोखरा ७ मासबारमा रहेको डिज्नील्याण्ड एकेडेमीकी ३ जना विद्यार्थीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् । उनीहरु सबै छात्रा हुन् ।

छात्रा स्मृति लम्साल (सिमलचौर), सृष्टि भण्डारी (मालेपाटन) र सृष्टिना पौडेल (मासबार) को ४ जिपिए ल्याएको विद्यालयका प्रिन्सिपल नरेश बरालले बताए । २०७८ सालमा डिज्नील्याण्डकी ऋतिका पोखरेलले ४ जिपिए ल्याएकी थिइन् ।

पोखरा ७, मासबारस्थित डिज्नील्याण्ड एकेडेमीबाट यसपालि २९ जना विद्यार्थीले एसइई दिएका थिए ।

गण्डकी बोर्डिङका दुई विद्यार्थीलाई ४ जिपिए

एसइई–२०८० को नतिजामा गण्डकी बोर्डिङ स्कुलका २ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् । आयुष पराजुली र ओजश्वी शर्माले ४ जिपिए ल्याएका हुन् ।

१२१ जना परीक्षार्थीमध्ये ३.६० देखि ४ जिपिएसम्म ल्याउने ९० जना रहेको विद्यालय शिक्षक राजकुमार ढकालले बताए ।
यस्तै, ३.२० देखि ३.६० सम्म २४ जना र २.८ देखि ३.२० ल्याउने २ जना छन् । १२१ जनामध्ये १ जना सुरुमै अनुपस्थित भएकोमा अन्य २ जनाको पनि नजितामा अनुपस्थित देखाएको ढकालले बताए ।

बालोदयकी सभ्यताको ४ जिपिए

पोखरा १७, बिरौटास्थित बालोदय माध्यमिक विद्यालयकी सभ्यता लामिछानेले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् ।

बिरौटा निवासी उनी सानैदेखि सोही विद्यालयमा पढेकी मेधावी छात्रा हुन् । उनले पढाइका साथसाथै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुँदै पुरस्कार जित्ने गरेको विद्यालय प्राचार्य टेकनाथ पौडेलले बताए ।

यस्तै, अभिषेक लामिछाने, मन्जिल पौडेल, संकल्प ढकाल, सुविन्द्र सारु र लिलेन थापा गरी ५ जनाले जिपिए ३.९५ ल्याएका छन् । २१ जनाले जिपिए ३.६ देखि ३.९, १३ जनाले जिपिए ३.२ देखि ३.६ र ६ जनाले जिपिए २.८ देखि ३.२ सम्म ल्याउन सफल भए ।

शान्ति निकेतनकी अदितिको ४ जिपिए

पोखराको शान्ति निकेतन स्कुलकी छात्रा अदिति पराजुलीले एसइई २०८० मा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएकी छन् । पोखरा ५, पस्र्याङ स्कुलकी अदिति शैक्षिक तथा विभिन्न अतिरिक्त क्रियाकलापमा समेत सानैदेखि उत्कृष्ट हुने गरेको विद्यालय शिक्षक हेम सुवेदीले बताए ।

विद्यालयका संस्थापक÷प्राचार्य डा. महेश्वर पराजुलीका अनुसार आफ्नो विद्यालयका ४० विद्यार्थीले परीक्षा दिएकोमा औषत ३.६४ आएको छ । साथै अंकिता कोइराला, प्रकृति भुषाल र शैलज अधिकारीले पनि ३.९५ जिपिए ल्याएका छन् ।
न्यासनल इन्भेन्टिभका विशालको ४ जिपिए
न्यासनल इन्भेन्टिभ स्कुल, लेकसाइडका विद्यार्थीले एसइई–२०८० को नतिजामा सर्वोत्कृष्ट ४ जिपिए ल्याउन सफल भएका छन् ।
विद्यार्थी विशाल खत्रीले ४ जिपिए ल्याएका हुन् । विद्यालयबाट यसपालि ४० जना परीक्षार्थी सहभागी भएकोमा सबै जना उत्तीर्ण भएको सहप्राचार्य विक्रम पौडेलले बताए ।

एसओएस गण्डकीका सचेतले ल्याए ४ जिपिए

पोखरा राजबजारस्थित एसओएस हर्मन माइनर स्कुल गण्डकीका छात्र सचेत सुवेदी ४ जिपिए प्राप्त गरेका छन् । राष्ट्रिय परीक्षा बोर्डद्वारा बिहीबार प्रकाशित नतिजामा सुवेदीले ४ जिपिए ल्याएको प्रधानाध्यापक चूडामणि सुवेदीले बताए ।

विद्यालयतर्फबाट यस वर्ष एसइईमा सहभागी ८८ विद्यार्थीमध्ये ४ जिपिए प्राप्त गर्ने १ र ३.९५ जिपिएभन्दा माथि प्राप्त गर्ने ६ जना विद्यार्थी रहेको सहप्रअ वीरसिंह बूढाले बताए । ५१ जना विद्यार्थीले ३.६ भन्दामाथि, १५ जना विद्यार्थीले ३.२ भन्दामाथि र त्यसमुनिका बाँकी विद्यार्थी पनि राम्रै जिपिएका साथ उत्तीर्ण भएको सहप्रअ बूढाले बताए ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले बिहीबार सार्वजनिक गरेको एसईईको नतिजामा देशभरबाट कुल १ सय ८६ जनाले मात्र ४ जिपिए ल्याएका छन् । परीक्षामा सम्मिलितमध्ये ४७.८६ प्रतिशत मात्र उत्तीर्ण भएका हुन् ।

सैनिक आवासीयका २ सय विद्यार्थीमा आयुषको ४ जिपिए

पोखरा ११, फूलबारीस्थित सैनिक आवासीय माविका आयुष उपाध्यायले ४ जिपिए ल्याएका छन् । विद्यालयबाट १ सय ९८ जना सम्मिलित भएकोमा ३.६ देखि ४ जिपिएसम्म ल्याउने ९३ जना र ३.२ देखि ३.६ जिपिएसम्म ल्याउने ९१ जना छन् ।

सृजना बोडिङ स्कुलका आयुस खड्कालाई ४ जिपिए

सृजना बोडिङ स्कुलका आयुस खड्काले ४ जिपिए ल्याएका छन् । विद्यालयकाबाट ८३ जना विद्यार्थी एसईईमा सहभागी भएको थिए ।

लमजुङका तीन विद्यार्थीलाई ४ जिपिए

लमजुङमा सामुदायिक विद्यालयतर्फ १ जना र नीजि विद्यालयबाट २ जनाले सर्वोत्कृष्ट नतिजा ल्याएका छन् ।

सर्वोत्कृष्ट नतिजा ल्याउनेमा मध्यनेपाल नगरपालिका ७ मा रहेको कुशमाकर माविका छात्र विश्वास घिमिरे र बेसीशहर नगरपालिका ७ मा रहेको युनिभर्सल अंग्रेजी विद्यालयका आयुश्मा गुरुङ र आयुष के.सी. रहेका शिक्षा विकास तथा समन्वय इकाई लमजुङका प्रमुख वीरबहादुर गुरुङले जानकारी दिए ।

युनिभर्सल एकेडेमीका प्रिन्सिपल बिमल अधिकारीले उक्त ३.६ देखि ४ जिपिए प्राप्त गर्ने विद्यार्थीको संख्या ३० जना रहेको जानकारी दिए । त्यस्तै ३.२ जिपिए देखि ३.६ जिपिए प्राप्त गर्ने २३ जना र २.८ जिपिए देखि ३.२ जिपिए प्राप्त गर्ने ९ जना रहेका छन् ।

उता कुशुमाकर माविबाट ३.९ जिपिए ल्याउने १ जना, ३.८२ जिपिए ल्याउने २ जना र ३.२ देखि ३.६ जिपिए नतिजा ल्याउने ७ जना, २.८ देखि ३.२ जिपिए ल्याउने १३ जना, २.४ देखि २.८ जिपिए ल्याउने ५ जना र २.० देखि २.४ जिपिए ल्याउने विद्यार्थी १ जना रहेका प्र.अ. ध्रुबराज घिमिरेले बताए ।

यस बर्षको एसइइ परीक्षमा लमजुङ जिल्लाबाट ५२ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । जिल्लाभरका सामुदायिक र नीजि विद्यालयका गरी २ हजार ६ सय ५० जना परीक्षार्थी परीक्षामा सहभागी भएकामा ५२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका हुन् ।

नवलपुरमा सामुदायिक विद्यालयका २ जनाको ४ जिपिए

नवलपुरबाट २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी विद्यार्थीमध्ये २ जनाले ४ जिपिए ल्याएका छन् । जिल्लाको मध्यविन्दु नगरपालिका–७ स्थित नवजागरण नमुना माध्यमिक विद्यालयका २ छात्रले एसइईमा ४ जिपिए ल्याएका हुन् ।

नवलपुरबाट एसइईमा सहभागी ६ हजार १ सय २५ विद्यार्थीमध्ये नवजागरणका प्रतीक ज्ञवाली र सौगात पोखरेलले जिपिए ४ ल्याएका हुन् । शिक्षा विकास तथा समन्वय इकाइ नवलपुरका प्रमुख रुद्र शर्माले जिल्लाबाट यसवर्षको एसइईमा जम्मा २ हजार ९ सय ६८ विद्यार्थी उत्तीर्ण भएका जानकारी दिए ।

तनहुँकी रञ्जिला क्षेत्रीलाई ४ जिपिए

तनहुँको भानु नगरपालिका वडा नम्बर २ स्थित होमराज लोहनी सारदा शिक्षा सदरकि रञ्जिला क्षेत्रीले ४ जिपिए ल्याएकी छन् ।

स्याङ्जाका सुसान मरासिनीलाई ४ जिपिए

सरकारी विद्यालयबाट एसईईमा स्याङ्जाका सुसान मरासिनीले ४ जिपिए ल्याएका छन् । सरकारी विद्यालयबाट मात्र नभई स्याङ्जा जिल्लामा ४ जिपिए ल्याउने एक्ल विद्यार्थी हुन् ।

पुतलीबजार नगरपालिका १ स्याङ्जाको त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयबाट एसईई परीक्षामा सम्मिलित मरासिनीले ४ जिपिए ल्याएका छन् ।