मणिपालको राजस्व छानबिन गर्न नयाँ समिति गठन

-


     क्लिक गण्डकी     
     असार ११ गते २०८१ मा प्रकाशित


मणिपाल शिक्षण अस्पतालको तेश्रो तलाबाट खसेर महिलाको मृत्यु

मणिपाल शिक्षण अस्पताल

पोखरा, १० असार/ मणिपाल शिक्षण अस्पतालबाट पोखरा महानगरपालिकाले लिनु पर्ने राजस्वको विषयमा छानविन गर्न ७ सदस्यीय समिति गठन भएको छ ।

महानगरपालिकाको कार्यपालिका बैठकले प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए ।

समितिमा वित्त महाशाखा प्रमुख जयराम पौडेल, डा. होमनाथ गैरे, अधिवक्ता शुकदेव गौतम, वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेल, वडा सदस्यहरु शिवराम भण्डारी र रामजी पौडेल छन् ।

महालेखा परीक्षकको कार्यालयले हालै प्रकाशन गरेको अघिल्लो वर्षको प्रतिवेदनमा १९ करोड रुपैयाँ राजस्व लिनुपर्ने औंल्याएको छ । समितिले मणिपाल शिक्षण अस्पतालबाट प्राप्त गर्नुपर्ने राजस्व कति हो त्यसको यकीन गर्ने कार्यादेश पाएको छ ।

२०७९ १० चैत बसेको महानगरको १६ औं बैठकले प्राविधिक समितिले दिएको प्रतिवेदनको आधारमा १ करोड ७५ लाख रुपैयाँ राजस्व लिएर सम्पन्न प्रमाणपत्र दिने निर्णय गरेको थियो ।

त्यो निर्णयलाई पोखरा महानगरको आइतबार बसेको १५ औं नगरसभाले बदर गरेको छ । महानगर प्रमुख धनराज आचार्यले निर्णय बदरका लागि प्रस्ताव गरेका थिए ।