सदस्यता नविकरणमा लेउवासंघका नौ पूर्व अध्यक्षको ध्यानाकर्षण

-


     क्लिक गण्डकी     
     असार ३ गते २०८१ मा प्रकाशित


लेउवा संघ

लेखनाथ, २ असार/ लेखनाथ उद्योग बाणिज्य संघका साधारण सदस्यहरुको सदस्यता नविकरण सम्वन्धमा नौ जना पूर्व अध्यक्षहरुले वर्तमान कार्यसमितिलाई ध्यानाकर्षण गराएका छन् ।

संघको कार्यसमितिले सदस्यता नविकरणका सम्वन्धमा फरक नीति लिएपछि पूर्व अध्यक्षहरुले स्थापनाकालदेखीका सदस्यहरुलाई विना आधार नहटाउन आग्रह गर्दै, अध्यक्ष विनोद कुमार श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन ।

संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य, अध्यक्षहरु चतुराखर अधिकारी, बाबुराम जमरकट्टेल, सुमन भट्टराई, बाबुराम गिरी, लक्ष्मी प्रसाद त्रिपाठी, कृष्णहरि भण्डारी, बलराम ढकाल र छत्रधर आत्रेयले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र अध्यक्ष श्रेष्ठलाई बुझाएका हुन ।

पूर्व अध्यक्षले अहिलेको कार्यसमितिले आफुअनुकुल हुने गरी विधानको व्याख्या गरेर संघमा लामोसमय देखी योगदान दिएका सदस्यहरुलाई मान मर्दन र उनिहरुको योगदानको अवमुल्यन हुने गरी हटाउन लागेको भन्दै आपत्ती समेत जनाएका छन् ।
उनिहरुले विधानलाई अक्षरस पालना गर्न आग्रह गर्दै आफु अनुकुल हुने गरी ब्याख्या नगर्न समेत स्पष्ट पारेका छन् ।

पूर्व अध्यक्षहरुले एक साता भित्र सदस्यता नविकरण विवाद टुंग्याउन आग्रह गर्दै, एकलौटी ढंगले चल्न खोजे त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी वर्तमान कार्यसमितिले नै लिनु पर्ने चेतावनी दिएका छन् । बिषयको गाम्भिर्यतालाई नजरअन्दाज गरी अप्रिय प्रकारको निरन्तरता रही रहेमा संस्था तथा सवैलाई ठुलो हानी हुने उल्लेख गर्दै, त्यसको जिम्मेवारी स्वयं कार्यसमितिले लिन पर्ने चेतावनी पूर्व अध्यक्षहरुले दिएका छन् ।

उनिहरुले उद्योग बाणिज्य संघ सवैको साझा संस्था भएको उल्लेख गर्दै, त्यसको सदस्य उद्योगी व्यवसायी हुनु पर्नेमा दुई मत नरहेको स्पष्ट पार्दै, सम्पूर्ण गतिविधिहरु विधान सम्मत हुनु पर्नेमा जोड दिएका हुन । उनिहरुले आफु अनुकुलता र प्रतिकुलता हेरी एक बिषयलाई मात्रै आधार बनाएर आफ्नो चाहना अनुसार व्यवसायको परिभाषा गरी विभेदपूर्ण तवरले नविकरण गर्न खोजिएको उल्लेख गरेका छन् ।

सदस्यता नविकरणका बिषयमा संघका पदाधिकारी र पूर्व अध्यक्षहरुको छलफल चल्दा उक्त बिषय विवादित बनेपछि पूर्वअध्यक्षहरुले बैठक छाडेर हिडेका थिए । संघले पाँच बर्षका लागि मिसन भिजन तयारीका लागि तनहुँको बन्दिपुरमा आयोजना गरेको कार्यक्रम समेत पूर्व अध्यक्षहरुले अघोषित रुपमा बहिष्कार गरेका थिए ।

२०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको स्थापना भए पश्चात ६ महिना पछि २०५४ साल असार २० गते तत्कालिन समयमा लेखनाथ क्षेत्रका व्यवसायीहरु संगठित हुँदै लेखनाथ उद्योग बाणिज्य संघको स्थापना गरेका थिए ।

स्थापनाको २७ औं बर्षमा चलिरहँदा सदस्यता सम्वन्धी विवाद यसरी सतहमै आएको पहिलो पटक हो । यसअघि पनि सदस्यको व्यापार, क्रियाशिलता, सरकारका विभिन्न निकायमा दर्ता र नविकरण एवं करचुक्तालाई आधार बनाएर निरन्तरता दिनु पर्नेमा बहस चल्दै आएको थियो ।