पोखरामा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर

-


     क्लिक गण्डकी     
     असार १ गते २०८१ मा प्रकाशित


पोखरामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर

पोखरामा कुकुरको निशुल्क बन्ध्याकरण शिविर

पोखरा, ३२ जेठ/ भेटेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्कीको आयोजनामा कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सम्पन्न गरिएको छ ।

घरपालुवा तथा छाडा कुकुर गरी ६३ कुकुरको बन्ध्याकरण गरिएको सो कार्यालयका सूचना अधिकारी सहदेव पौडेलले जानकारी दिनुभयो ।

सोही अवसरमा कुकुरलाई रेविजबिरुद्धको खोप पनि लगाइएको थियो । बन्ध्याकरणको लागि दैनिक आउने चापलाई व्यवस्थापन गर्न क्रमश शिविर संचालन गरिरहेको पौडेलले बताउनुभयो ।

बन्ध्याकरण गरिएको मध्ये १७ वटा भाले र ४६ पोथी कुकुर रहेको उहाँले बताउनुभयो । शिविरमा स्याङ्जा, तनहुँ र कास्कीका कुकुर समेत रहेका थिए ।

२०३० सम्ममा रेबिज रोग नियन्त्रण गर्ने सरकारको नीति अनुरुप छाडा तथा घरपालुवा कुकुरमा सो अभियान सुरु गरिएको सो कार्यालयका प्रमुख वरिष्ठ पशु बिकास अधिकृत शम्भुराज पाण्डेले बताउनुभयो ।

उहाँले असारको अन्त्यमा अर्को शिविर समेत संचालन गरिने जानकारी दिनुभयो । सहरी क्षेत्रमा कुकुर पाल्ने चलन बढ्दै जानु र पछि गएर छाडा छोड्ने प्रवृत्तिले गर्दा कुकरको संख्या बृद्धि हुदै जाने गरेको छ ।

त्यस्ता कुकुरले सर्वसाधारणलाई टोक्दै जादा रेबिजको जोखिम बढेको हुँदा कुुकुरको बन्ध्याकरणलाई तिव्र पारिएको पशु चिकित्सक डा। किरण पाण्डेले बताउनुभयो ।

बन्ध्याकरणबाट पोथी कुकुरमा आउने पाठेघरको समस्याको न्युनिकरण भएर जाने डा पाण्डले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारको सहयोगमा संचालन भएको शिविरबाट प्रत्यक्ष लाभ पाएको भन्दै कुकुर पालक पोखरा–१४ का बिशाल गुरुङले खुसी व्यक्त गर्नुभयो ।

डा पाण्डेको नेतृत्वमा रहेको सो टोलीमा डा अनन्त कोइराला, डा आशिष गौतम, डा आशेष बिक, डा पवन पाण्डे, डा प्रियङ्का कोइराला लगायतका विभिन्न पशु विज्ञहरुको सहभागिता रहेको थियो ।