‘पर्यटकीय राजधानी घोषणाको प्रभाव दीर्घकालमा देखिन्छ’

-


     क्लिक गण्डकी     
     जेठ ३१ गते २०८१ मा प्रकाशित


‘पर्यटकीय राजधानी घोषणाको प्रभाव दीर्घकालमा देखिन्छ’

‘पर्यटकीय राजधानी घोषणाको प्रभाव दीर्घकालमा देखिन्छ’

पोखरा, ३१ जेठ/ गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको चार वर्षको निरन्तर प्रयासपछि गत ४ चैतमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरियो ।

अब पोखरालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन र पर्यटकको आवागमन बढाउनुपर्ने चुनौती छ । पोखरालाई अब कसरी ब्राण्डिङ गर्न सकिन्छ त ? आर्थिक मिडिया प्रा.लिले मंगलबार यही विषयमा केन्द्रित भएर ‘टुरिजम क्यापिटल सिटी, प्रोडक्ट एण्ड ब्राण्डिङ’ विषयक बहस कार्यक्रम गरेको छ ।

कार्यक्रममा बोल्दै पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटकीय राजधानी घोषणालाई सार्थक पार्न पोखराको हकमा साहसिक खेल पर्यटनलाई प्रकृति र संस्कृति पर्यटनभन्दा बढी जोड दिइनुपर्ने बताए । ‘पोखरा र सेरोफेरो हेर्दा साहसिक क्षेत्र भनेर चिनाउन सक्नुपर्छ । पर्वत, बागलुङमा बञ्जी छ,’ उनले भने, ‘हामीसँग भएको चिज संसारमा कहीँ छैन ।’

पोखरा फोहोर भएको भन्ने गुनासो विदेशी र काठमाडौँ बस्नेहरूबाट आएकाले यसलाई सुधार गर्न आवश्यक रहेको उनले सुनाए । पर्यटकलाई सुरक्षित अनुभूत गराउन सीसीटिभी र स्ट्रीट लाइट जोड्न आवश्यक रहेको भट्टराईले बताए । पर्यटन क्षेत्रलाई हेर्न महानगरपालिकाअन्तर्गत छुट्टै निकाय गठन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्ष डा. कृष्ण देवकोटाले घोषणा कार्यान्वयनमा सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित जनशक्ति उत्पादन गर्ने शैक्षिक संस्थाले पनि ध्यान दिनुपर्ने बताए । पर्यटकीय राजधानी घोषणा गर्न अझै ढिलो भएको उनको जिकिर थियो । ‘कति संरचना भए पर्यटकीय राजधानी घोषणा गर्न मिल्छ ? यो प्रश्न थियो । होटल बन्नुमात्र सबथोक होइन,’ उनले भने, ‘यो घोषणा अझ पहिला हुनुपथ्र्यो । अब घोषणा भइसक्या । कार्यान्वयन गर्न प्रदेश सरकार, महानगर, निजी क्षेत्रले बहस गरौँ ।’

नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज पोखराका प्राचार्य प्रकाश रेग्मीले पर्यटकीय राजधानी घोषणापछि पूर्वाधार, सुरक्षा, खाना डिजिटल मार्केटिङ र सेवा दिएपछि प्रतिक्रिया लिनेजस्ता विषयमा ध्यान दिनुपर्ने बताए । उत्पादित जनशक्तिले उचित सेवासुविधा नपाउँदा विदेश जाने क्रम बढेको उनले जिकिर गरे ।

‘नेपालमै काम गर्दा १५/२० हजार पाउँछन् । २/३ महिना इन्टर्न गर्नुपर्छ । त्यो भएपछि यहाँ पढेकाहरू विदेश जान्छन्,’ उनले सुनाए । पोखरा पर्यटन परिषद्का पूर्वाध्यक्ष भट्टराईले नेपालको व्यवसायको स्तरले गर्दा विदेशमाजस्तो पारिश्रमिक दिन सम्भव नरहेको बताए । भट्टराई, देवकोटा र रेग्मी सहभागी छलफललाई पत्रकार दिपेन्द्र पहारीले सहजीकरण गरेका थिए ।

‘नयाँ संरचना थप्नुपर्छ’

नेपाल पर्यटन बोर्डका पूर्वसदस्य टिकाराम सापकोटाले पोखरामा प्राकृतिक संरचना रहेको तर मानवनिर्मित संरचना थप गर्न आवश्यक रहेको बताए । कार्यपत्र प्रस्तुत गर्दै सापकोटाले कोरोना संक्रमणपछि घटेको पर्यटकको आवागमन गत अंग्रजी वर्षमा १० लाख पुगेको र यो सकारात्मक भएको बताए ।

सापकोटाले पोखरामा पर्यटक बढाउन र बसाइँ लम्ब्याउन चिडियाखाना, पार्क, वाटर स्पोर्टस्जस्ता संरचना थप्न आवश्यक रहेको सुनाए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान र पर्यटकलाई गुणस्तरीय सवारीको व्यवस्था आवश्यक रहेको उनले औंल्याए । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र बन्न सकेमा धेरै खर्च गर्ने र ठूला कार्यक्रम पोखरामा ल्याउन सकिने उनको भनाइ थियो ।

पर्यटनलाई जोड दिनु अब बाध्यता ः मेयर आचार्य

संघ, प्रदेश र स्थानीय सरकार पोखरालाई पर्यटन केन्द्रित योजना र बजेट बनाउन बाध्य भएको र यसको प्रभाव दीर्घकालमा देखिने मेयर धनराज आचार्यको भनाइ थियो । ‘पर्यटनको राजधानी घोषणाले केन्द्र सरकार पर्यटनका लागि काम गर्न नीतिगत हिसाबले बाध्य भएका छौँ,’ उनले भने, ‘ब्राण्डिङ भनेको आजको आजै होइन । दीर्घकालीन हिसाबले यसमा फाइदा पु¥याउँछ ।’

धेरै खर्च गर्ने पर्यटक ल्याउन समय लाग्ने मेयर आचार्यको भनाइ थियो । पोखराको पर्यटन भनेको लेकसाइडमात्र हो भन्ने भाष्य बनाइएकोमा उनले आपत्ति जनाए । ‘पर्यटन भनेको लेकसाइडमात्र हो भन्ने छ । त्यसो होइन । एक जना पर्यटक आउँदा त्यसले धेरै क्षेत्रलाई मलजल गर्छ,’ उनले भने ।

पोखराको पर्यटन क्षेत्रसँग प्रत्यक्ष/अप्रत्यक्ष जोडिने २८ अर्बका प्रोजेक्ट कार्यान्वयनमा रहेको मेयर आचार्यले जानकारी दिए । बेगनास तालमा एक अर्ब रूपैयाँ बराबरको वाटर स्पोर्टस् खेल सञ्चालन गर्ने अन्तिम तयारी रहेको उनले बताए ।

काठमाडौँ उद्योग वाणिज्य संघका सदस्य उज्जवलजंग शाहले पोखरालाई हाल सडकको समस्या रहेकाले त्यसलाई जतिसक्दो छिटो समाधान गर्न सुझाए । ‘बाटो एकदमै ठूलो समस्या देखिन्छ । भत्काएर छोड्ने अनि सहजीकरण नगर्ने,’ उनले भने, ‘यसरी व्यवसायीलाई मार परेको छ ।’

पोखरा उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष गोकर्ण कार्कीले अन्तर्राष्ट्रिय विमानस्थल चलाउन सकेमा पोखराको पर्यटन विश्वभर बिक्न सक्ने दाबी गरे । विमानस्थल बनाउन उद्योग वाणिज्य संघले विगतमा नेतृत्व गरेको र विमानस्थल चलाउन पनि आन्दोलनको परिस्थिति नबनाउन सरकारलाई चेतावनी दिए ।

लेखनाथ उद्योग वाणिज्य संघका उपाध्यक्ष विक्रम कर्माचार्यले पोखरामा खेल पर्यटन बढाउन आवश्यक रहेको औंल्याए । पर्यटन व्यवसायीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दा अर्थतन्त्र सुदृढ हुने भएकाले त्यसमा ध्यान दिन उनले सुझाव दिए । गो बञ्जी नेपालकी प्रबन्धक मिना लामा बरालले पर्यटन व्यवसायीले आफ्नो स्तरलाई व्यवस्थित गर्न आवश्यक रहेको सुनाइन् ।

प्याराग्लाइडिङ कहिले १२ हजार कहिले ३ हजार रूपैयाँमा गर्नु ठिक नभएको उनको भनाइ थियो । पोखरको पर्यटन क्षेत्रलाई विकास गर्न पूर्वाधार र प्रविधि विकास, सहकार्य आवश्यक रहेको जिकिर गरिन् ।

आर्थिक मिडिया प्रालिका अध्यक्ष सुरेन्द्र पौडेलले सञ्चार क्षेत्रले पनि सरकारको घोषणालाई सफल पार्न सहयोग पार्नुपर्छ भनेर बहसको कार्यक्रम गरेको बताए । पोखराको विकासमा योगदान पुग्ने गरेर समयसापेक्ष बहस कार्यक्रम गरिराख्ने उनले बताए । कार्यक्रममा पोखराका एक सय ५० जनाभन्दा बढी पर्यटन व्यवसायी, पत्रकारलगायत सहभागी थिए । पत्रकार बासुदेव मिश्रले कार्यक्रम सञ्चालन गरेका थिए ।



Tags: