गण्डकी प्रदेश सरकारमा दिपक मनाङे छैटौं पटक मन्त्री, फणीन्द्र देवकोटा पनि मन्त्री

-


     क्लिक गण्डकी     
     जेठ २९ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेश सरकारमा दिपक मनाङे छैटौं पटक मन्त्री, फणीन्द्र देवकोटा पनि मन्त्री

गण्डकी प्रदेश सरकारमा दिपक मनाङे छैटौं पटक मन्त्री, फणीन्द्र देवकोटा पनि मन्त्री

पोखरा, २९ जेठ/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री परिषद् विस्तार गरेका छन् । नेपाल समाजवादी पार्टीका नेता तथा माओवादी सांसद फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले शपथ लिएका हुन् ।

देवकोटा उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र मनाङे भौतिक पूर्वाधार मन्त्री बनेका हुन् । देवकोटाले माओवादीको ह्वीप नपानी फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए ।

उनीहरुलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री पाण्डेले सोमबार संसदबाट विश्वासको मत पाएपछि मन्त्रीमण्डल विस्तार गरेका हुन् । योसँगै गण्डकी मन्त्रिमण्डल ५ सदस्यीय पुगेको छ ।

गण्डकी प्रदेश सरकारमा बेला हुने सत्ता परिर्वनमा स्वतन्त्र सांसद दिपक मनाङे सत्ता फेरबदलमा निर्णायक हुन् गर्दछन् । सोमबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिदा पनि उनी निर्णायक मध्यका एक थिए । मंगलबार उनी मन्त्री बनेका छन् ।

गण्डकीका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे छैटौँ पटक मन्त्री नियुक्त भए । अघिल्लो कार्यकालमा ३ पटक खेलकुद मन्त्री बनेका उनी अहिले भने लगातार तेस्रो पटक भौतिक पूर्वाधार विकास मन्त्री बनेका हुन् ।

उनी प्रदेशसभाको पहिलो कार्यकालमा डेढ वर्षमा तीन पटक मन्त्री बने । अहिले ३ महिना नहुँदै तेस्रो पटक मन्त्री बनेका छन् । उनले रेकर्ड नभई सरकारलाई जोगाइदिन मन्त्री भएको बताए । उनले आफु स्वतन्त्र सांसद भएको बताउदै एउटा सिट पनि किन बिगार्ने भनेर सरकारलाई साथ दिएको बताए ।

मनाङे र गण्डकीको सत्ता राजनीति पर्यायवाची जस्तै भएको छ । प्रत्येक मुख्यमन्त्रीको क्याबिनेटमा उनी छुटेका छैनन् । त्यसैले प्रदेश संरचनाको ७ वर्षमा उनी ६ पटक मन्त्री भएका हुन् । सुरुमा एमालेका पृथ्वी सुब्बा गुरुङको क्याबिनेटबाट सरकारमा छिरेका उनी त्यसपछि बनेको कृष्णचन्द्र नेपाली पोखरेलको सरकारमा पनि सामेल भए । अहिले भौतिक पूर्वाधारमन्त्री बनेपछि उनले विकासका योजना समेत सुनाए ।

मनाङ प्रदेशसभा २ बाट दोस्रो कार्यकालमा सर्वसम्मत निर्वाचित भएका उनलाई सुरुको १ वर्ष खासै वास्ता गरिएन । तर अहिले सत्ताको अङ्कगणित यस्तो ठाउँमा आएर अड्किएको छ कि फेरि मनाङे नै सत्ता गठन र विघटनको निर्णायक भएका छन् । मन्त्री बन्ने लोभमा सुरुमै एकीकृत समाजवादी केन्द्रमा प्रवेश गरे ।

तर खगराज अधिकारीको पहिलो क्याविनेट र सुरेन्द्रराज पाण्डेको बहुमत छँदासम्म उनी मन्त्री हुन पाएनन्, कारण दुवैले मनाङेको आवश्यकता महसुस गरेनन् । पाण्डे जब अल्पमतमा परे उनले सत्ता जोगाउन मनाङेलाई अल्पमतमै रहेका बेला मन्त्री बनाए । खगराज अधिकारीले पनि उनलाई मन्त्री बताए । तर सत्ता टिकेन । त्यसपछि पाण्डेलाई मनाङेले विश्वासको मत पाइसकेका छन् । मंगलबार उनलाई तेस्रो पटक भौतिक मन्त्री नियुक्त भए ।