सुरेन्द्रराज पाण्डे
पोखरा, २८ जेठ/ गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । जेठ १६ गते संसद्को ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार ६० सदस्यीय प्रदेश सभामा बहुमत ३१ सांसदको समर्थन पाएका छन् ।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । नेकपा माओवादी केन्द्र संसदीय दल गण्डकीको ह्वीप क्रस गर्दै सांसद फणिन्द्र देवकोटाले समर्थन गरेपछि पाण्डे सरकारले बहुमत पु¥याउन सफल भयो । पाण्डेलाई नेपाली काग्रेसका २७, राप्रपाका २, स्वतन्त्र राजिब गुरुङ उर्फ दिपक मनाङे र फणिन्द्र देवकोटाले विश्वकासको मत दिए ।
विपक्षमा नेकपा एमालेका २२ र माओवादीका ६ जनाले मतदान गरे । नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा समर्थन गर्न गएपछि एमालेको नाराबाजी र विरोधबीच सुरेन्द्रराजले बहुमत जुटाएका हुन् । सुरेन्द्रराजका पक्षमा ३१ सांसदले हस्ताक्षर गरेकाले विश्वासको मत प्राप्त गरेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।
नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले प्रदेश सभा जोगाउन र मध्यावधि टार्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताए । माओवादी केन्द्रको चुनाव चिह्नबाट गण्डकी प्रदेश सभामा निर्वाचित भएका देवकोटाले फ्लोर क्रस गरेसँगै मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । उनले मैले मतदान गर्दा प्रदेशले स्थायित्व पाउँछ, मध्यावधि रोक्न सकिन्छ भने दिनुपर्छ भनेर मत दिएको बताए ।
माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादी संसदीय दलका सबै सदस्यलाई ह्वीप जारी गरेका थिए । पूर्वमुख्यमन्त्री खगराज अधिकारीले संसदमा बोल्दै एउटा दलको सांसदले अर्को दललाई मत दिने विकृति नदोहो¥याउन आग्रह गरेका थिए । ह्वीप उल्लंघन गरेको भन्दै माओवादी दलका नेता हरि चुमानले फणिन्द्रलाई कारबाही बताए ।
केन्द्रीय सत्ता समीकरण बदलिँदा प्रदेशमा छाप नपरोस् भनेर केन्द्रको गठबन्धनका विपक्षमा गण्डकीमा सुरेन्द्रराजलाई समर्थन गरेको राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले बताए । केन्द्रको सत्ता समीकरण बदलिएसँगै प्रदेशमा माओवादीले दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले विश्वासको मत नलिइ फागुन २१ गते राजीनामा दिएका थिए ।
त्यस पछि खगराज मुख्यमन्त्री बने पनि ३० जना सांसद रहेकाले बहुमत प्राप्त गरेको घोषणा गरेपछि पाण्डेले सर्वोच्चमा मुद्दा हालेका थिए । तर जेठ १४ गते मुख्यमन्त्री अधिकारीलाई पदमुक्त गर्दै सर्वोच्चले पाण्डेलाई ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।