दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर

-


     क्लिक गण्डकी     
     जेठ १७ गते २०८१ मा प्रकाशित


दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर

दर्शन फाउण्डेशनद्वारा म्याग्दीको सिंगामा निःशुल्क स्वास्थ्य शिविर

म्याग्दी, १७ जेठ दर्शन फाउण्डेशनको आयोजनामा म्याग्दीको बेनी नगरपलिका– ४ सिंगामा हालै आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ विरामी लाभान्वित भएका छन् ।

नेपाल रेडक्रस सोसाइटी सिंगा उपशाखाको सहआयोजना तथा युनाइटेड रेफरेन्स ल्याब्रोटोरी (युआरएल) पोखरा र बेनी अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा कतिपय विरामीको रक्त परीक्षण समेत गरिएको थियो ।

संस्थाले सामाजिक उत्तरदायित्वलाई ख्याल गर्दै दुर्गम ठाउँमा पुगेर निःशुल्क शिविर आयोजना गरेको आयोजक फाउण्डेशनका अध्यक्ष पितमबहादुर सेनले जानकारी दिए । आगामी दिनमा पनि फाउण्डेशनले सेवामूलक कार्यलाई निरन्तरता दिने उनले बताए ।

युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले उक्त शिविरभन्दा अघि संस्थाले एक सय ७२ वटा शिविर सम्पन्न गरिसकेको जानकारी दिए । स्वास्थ्यलाई धनको रुपमा लिनुपर्ने भन्दै उनले पछि गएर समस्यामा पर्नुभन्दा समयमै स्वास्थ्य जाँच गर्नु वुद्धिमानी हुने बताए ।

आगामी दिनमा समेत दूरदराजमा पुगी युआरएलले यसप्रकारका शिविर संचालन गर्ने अध्यक्ष पन्तले जानकारी दिए । डाक्टरहरु कृष्णराज अधिकारी, सरोजचन्द्र दाहाल, विराट शर्मा, राज गुरुङ, अञ्जु थापा र रामु सापकोटाले शिविरमा सहभागीको स्वास्थ्य परीक्षण गरेका थिए ।

सो अवसरमा निःशुल्क औषधि समेत उपलब्ध गराइएको थियो । नेपाल रेडक्रस सोसाइटी म्याग्दीका अध्यक्ष अमर बानिया, कोषाध्यक्ष नवराज पौडेल, बेनी– ४ का वडाअध्यक्ष अणबहादुर खड्का र रेडक्रस सिंगा उपशाखाका सभापति सुमन बानियाले उद्घाटन शत्रमा आफ्ना भनाई राखेका थिए ।

समापन शत्रमा आफ्नो भनाई राख्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले स्वास्थ्य शिविर आयोजना गरेर दर्शन फाउण्डेशनले उदाहरणीय कार्य गरेको बताए । शिविरका कारण आफ्नो घरआँगनमै धेरै विरामीले उपचार सेवा लिन पाएको उनले सुनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ पेट, छाति एवं मुटुरोग विशेषज्ञ डा।कृष्णराज अधिकारीले यसप्रकारको स्वास्थ्य शिविरको ठूलो प्रभाव नभए पनि विरामीको रोग पत्ता लगाउन र निदानको बाटो खोज्न सहज हुने भनाई राखे । पटक पटक यस्ता शिविर आयोजना गर्न सके धेरै विरामीले लाभ लिन सक्ने उनले बताए ।