
गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे
पोखरा, १६ जेठ/ गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रोपटक मुख्यमन्त्री बनेका पाण्डेलाई पद तथा गोपनीयताको शपथ खुवाए ।
पाण्डेसँगै दुई मन्त्रीले पनि शपथ लिएका छन् । कांग्रेस संसदीय दलका उपनेता विन्दुकुमार थापा र डा. टेकराज गुरुङले मन्त्री पदको शपथ लिएका हुन् । गुरुङ अर्थमन्त्री र थापाले सामाजिक विकास मन्त्रालयसँगै ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको जिम्मेवारी पाएका छन् ।
आजमात्रै प्रदेश प्रमुख भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डेलाई संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
जेठ १४ गते सर्वोच्च अदालतले तत्कालीन मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै कांग्रेस नेता पाण्डेलाई ४८ घण्टाभित्र मुख्यमन्त्री नियुक्त गर्न आदेश दिएको थियो ।





