
उच्च अदालत पोखरा
पोखरा, ११ जेठ/ तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ गते बिहान १० बजे सुरू गर्न उच्च अदालत, पोखराले आदेश दिएको छ ।
मतगणना प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, तनहुँमा रहेका शिलबन्दी मतपत्र सहित कागजात उच्च अदालत पोखरामा झिकाउन र अदालतका रजिष्ट्रारको संयोजनमा पुनः मतगणना गर्न आदेश छ । यसका लागि लाग्ने खर्च र व्यवस्थापन गर्न पनि निर्वाचन कार्यालयलाई भनिएको छ ।
उच्च अदालत, पोखराका न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला पौडेल भट्टराईको संयुक्त इजलासले जेठ १ गते फैसला गरेको थियो । फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक गरिएको हो । पूर्णपाठमा पुनः मतगणना सकिएपछि प्रतिवेदन इजलासमा पेस गर्न पनि आदेश दिइएको छ ।
स्थनीय तहको २०७९ वैशाख ३० गते भएको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदको मतगणनामा धाँधली भएको भन्दै उम्मेदवार दीपकराज जोशीले उच्च अदालतमा रिट दायर गरे थिए ।
नेपाली कांग्रेसका पूर्वनेता गोविन्दराज जोशीका छोरा दीपकराजले कैंची चुनाव चिह्न लिएर मेयर पदमा चुनाव लडेका थिए । उनलाई एमालेले समर्थन गरेको थियो । चुनावमा कांग्रेस उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले २ सय ५२ मतान्तरले निर्वाचन जितेका थिए ।





