विपक्षी दल अनुपस्थित भएपछि गण्डकी प्रदेश सभा बैठक स्थगित

-


     क्लिक गण्डकी     
     जेठ ११ गते २०८१ मा प्रकाशित


गण्डकी प्रदेश संसद

पोखरा, ११ जेठ /बिपक्षी दलका सांसदहरु अनुपस्थित भएपछि गण्डकी प्रदेश सभाको बैठक सुरु गरेर स्थगित भएको छ । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरु नआएपछि १५ गते १ बजेसम्मका लागि स्थगित भएको हो ।

गण्डकी प्रदेश सरकारको विषय सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेका बेला संसद् बैठक बोलाइएको भन्दै नेपाली कांग्रेसले बहिष्कार गरेको थियो । आजको बैठकमा राप्रपाका २ सांसद पनि अनुपस्थित भए ।

मन्त्रालयको जिम्मेवारी बाँडफाँड गरिएकोबारे प्रदेश प्रमुख डिल्लीराज भट्टबाट आएको पत्र पढेर सुनाएपछि प्रतिपक्षी दल नै अनुपस्थित रहेकाले बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले बताए ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० जना सदस्यलाई नै बहुमत मानेर मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गरेको घोषणा भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे सर्वोच्च गएका छन् । सर्वोच्चले जेठ १४ गतेका लागि पेशी तोकेको छ ।

गण्डकीमा एमालेका २२, माओवादीका ७ र राजीव गुरुङ (दीपक मनाङे) सहित ३० जनालाई सभामुख धितालले बहुमत मानेर विश्वासको मत पाएको घोषणा गरेका थिए । विपक्षमा कांग्रेसका २७ र राप्रपाका २ सांसद तटस्थ बसेका थिए ।