पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने

-


     क्लिक गण्डकी     
     जेठ ८ गते २०८१ मा प्रकाशित


पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने

पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने

पोखरा, ८ जेठ/ पोखराको गैह्रापाटनमा रहेको पश्चिमाञ्चल माविमा व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई हुने भएको छ ।

पश्चिमाञ्चल माविले पत्रकार सम्मेलन गरेर यस वर्षदेखि सौन्दर्य तथा केश कला विषय अन्तर्गत व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई शुरु गर्न लागेको जानकारी दिएको हो ।

विद्यार्थीलाई व्यवसायीक, सीपमूलक र व्यवहारिक शिक्षा दिने उद्देश्यले व्यवस्थापन संकालयको कक्षा ११ र १२ मा एक/एक सय पूर्णाङ्कको यी विषयहरु ऐच्छिक विषयका रुपमा थप गरिएको विद्यालयका प्रिन्सिपल सरोज कोइरालाले बताए ।

हरेक कक्षामा ५० पूर्णाङ्कको सैद्धान्तिक र ५० पूर्णाङ्कको प्रयोगात्मक कक्षा हुने उनले जानकारी दिए । विद्यार्थीले अहिले तिरिरहेको शुल्कमा वर्षको २४ हजार प्रयोगात्मक शुल्क तिर्नुपर्ने उनले जानकारी दिए ।

विद्यालयले व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाईका लागि दक्ष जनशक्ति र सुविधा सम्पन्न प्रयोगशाला बनाएको पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष प्रा.डा.रामनाथ ओझाले बताए ।

यस विषयको पढाईपश्चात विद्यार्थीहरु स्वरोजगार हुनुका साथै रोजगारीको थप अवसर सिर्जना हुने उनले बताए । विद्यालयले व्यूटिसियन, हेयर ड्रेसिङ र फेसन डिजाईनिङको पढाई, यसको महत्व र पठनपाठनको विषयबारे पूर्व जानकारी गराउने उद्देश्यले एक हप्ते सेल्फ मेकअप (स्किन केयर) सम्बन्धी तालिम सञ्चालन गर्ने जनाएको छ ।

आइरिस हेयर एण्ड ब्युटी केयर प्रा. लि. सँगको सहकार्यमा हुने तालिम निःशुल्क हुने विद्यालयकी सहायक प्रिन्सिपल मीनादेवी श्रेष्ठले जानकारी दिईन् । तालिममा ५० जनालाई दिइने उनले बताए ।

२०४९ सालमा स्थापना भएको पश्चिमाञ्चल माविमा नर्सरीदेखि १२ कक्षासम्मका कक्षाहरू सञ्चालन भइरहेका छन् । सो विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन, होटल व्यवस्थापन, विज्ञान, मानविकी र कानुन विषयको अध्ययन अध्यापन हुँदै आइरहेको जनाइएको छ ।