पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सुरु ग¥यो
पोखरा, ७ जेठ/ पोखरा विश्वविद्यालयले १०० बेडको शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । अस्पतालको सोमबार गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे ।
पोखरा महानगरपालिका ३० खुदीमा विश्वविद्यालयको केन्द्रीय कार्यालयसँगै रहेको शिक्षण अस्पतालमा गत साल भदौदेखि बहिरंग सेवा सुरु गरेको थियो ।
बालरोग, स्त्री तथा प्रसुति, हाडजोर्नी तथा नशा, दन्त चिकित्सा लगायतका सेवा अस्पतालबाट सुरु भइसकेको छ । अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिने छ । औषधी, रेडियोलोजी र इसिजी सेवा पनि सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
स्वास्थ्य विज्ञानतर्फ चिकित्सा शिक्षा आयोगले दिएको कोटामा विश्वविद्यालयले पब्लिक हेल्थ, फार्मेसी, बीपीटी, बीएस्सी नर्सिङ, बीएनएस कार्यक्रममा पठनपाठन सञ्चालनमा आएको छ ।
अस्पतालले आगामी दिनमा शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी छ ।
अस्पतालमा ४० कर्मचारीमध्ये ६ जना कन्सल्टेन्ट डाक्टर, ६ जना मेडिकल अफिसर, डेन्टल अफिसर र प्रयोगशालातर्फका जनशक्ति रहेका पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायका डिन सह–प्रा.डा. अमर नागिलाले जानकारी दिए ।
एमबीबीएस अध्यापन सुरु गर्न कम्तीमा ३०० बेडको अस्पताल चाहिने र आगामी दिनमा त्यो लक्ष्य पूरा गर्ने नागिलाले बताए । विश्वविद्यालयका विद्यार्थीले अन्य अस्पतालमा गएर प्रयोगात्मक अभ्यास गर्नुपर्ने परिस्थितिको अन्त्य गर्दै यस क्षेत्रका नागरिकको स्वास्थ्य सेवामा दिने उनले बताए ।
१०० बेडसम्मको शिक्षण अस्पतालको अनुमति गण्डकी प्रदेश सरकारले दिएको मुख्यमन्त्री खगराज अधिकारीले बताए । मेडिकल शिक्षासँगै गुणस्तरीय सेवा प्रदान गरेर नागरिकको विश्वास जित्न अधिकारीले अस्पताललाई आग्रह गरे ।
अस्पताल चलाउन पहिलेकै एउटा भवनसँगै ७ करोड रुपैयाँ लगानीमा नयाँ भवन बनाइएको छ । उपकरणसहित करिब १५ करोड रुपैयाँ लगानीमा अस्पताल सञ्चालनको अवस्थामा आइपुगेको हो ।