
पोखरामा ओटेफद्धारा वारिष्ता तथा बेकरी तालिम
पोखरा, ४ जेठ/ महिला पर्यटन व्यवसायी मञ्च गण्डकी (ओटेफ) को आयोजनामा पोखरामा वारिष्ता तथा बेकरी तालिम सुरु भएको छ ।
पोखरा जाभा वारिष्ता स्कुलमा बिहीबारदेखि सुरु भएको तालिमको गण्डकी प्रदेशका सांसद देवका पहारीले पछिल्लो समय नेपालमा कफी कल्चर बढ्दै गएको बताइन् । उनले कफीको कल्चर बढ्दै जादाँ उत्पादनमा पनि ध्यान दिनु पर्ने बताए ।
उनले नेपालको कफी विश्वमा राम्रो कफीमा पर्ने भन्दै नेपाली उत्पादन बृद्धि गर्दै निर्याततर्फ ध्यानदिनु पर्नेमा जोड दिइन् । पोखरा पर्यटनको राजधानी घोषणा भइसकेको बताउँदै उनले राजधानी भन्दैगर्दा पोखरा मात्रै नभएर यहाँको धौलागिरी, अन्नपूर्ण, मनास्लुसँगै समग्र गण्डकी प्रदेश नै भएको उनको भनाई थियो ।
कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा २५ का वडा अध्यक्ष मोतिराज तिमिल्सिनाले तालिमले पर्यटनको क्षेत्रमा योगदान पुर्याउने बताए । उनले पर्यटन सघं, प्रदेश र स्थानिय सरकारको प्राथमिकतामा पर्ने गरेको बताउँदै पर्यटन क्षेत्रमा बजेट विनियोजन गरिने उनको भनाई थियो ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले तालिमले पर्यटन क्षेत्रमा दक्ष जनशक्ती उत्पादन गर्न टेवा पुग्ने बताए । पछिल्लो समय कफी खाने चलन बढेको बताउँदै छोटो समयमै तालिम लिएर सानो लगानीबाट पनि व्यवसाय संचालन गर्न सकिने उनको भनाई थियो ।
मञ्चका निवर्तमान अध्यक्ष पार्वता पाण्डेले तालिमबाट सिकेका कुराहरु व्यवहारमा प्रयोग गर्नु पर्ने बताइन् । ओटेफका कार्यवाहक अध्यक्ष ममता न्यौपानेले महिलालाई दक्ष बनाउन तालिमको आयोजना गरिएको बताइन् । तालिममा २५ जना महिला व्यवसायीको सहभागिता रहेको महासचिव लक्ष्मी लामिछानेले जानकारी दिइन् ।





