
oil
पोखरा, २ जेठ/ नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो ।
निगमले पेट्रोलमा प्रतिलिटर सात रूपैयाँ र डिजेल तथा मट्टीतेल पाँच रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ १६८ रूपैयाँ ५० पैसा प्रतिलिटर, डिजेल र मट्टीतेल १५१ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १५३ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर, डिजेल र मट्टीतेल १५४ रूपैयाँ पर्नेछ ।





