जंगलमा आगो लगाएको आरोपमा कास्कीका एक जना पक्राउ

-


     क्लिक गण्डकी     
     वैशाख २३ गते २०८१ मा प्रकाशित


काहुँडाडाँको जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना

जंगलमा आगो दनदनी तस्बिरः सागर राज तिमिल्सिना

पोखरा, २३ बैशाख/ जंगलमा आगो लगाएको आरोपमा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाएको आरोपमा स्थानिय मराम्चे निवासी ३९ वर्षिय अगन्धर पौडेललाई प्रहरीले पक्राउ गरेको हो ।

वनमा आगलागी भएपछि आगो लगाउने व्यक्तिको खोजी गर्न वडा प्रहरी कार्यालय बगरबाट एक टोली खटिएको थियो । सोहि प्रहरी टोलीले स्थानियलाई सोधपुछ गर्दा उनीहरुले पौडेलले आगो लगाएको आरोप लगाएका थिए ।

ततपश्चात प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा आगो लगाएको स्वीकार गरेको कास्की प्रहरीले आईतबार जारी गरेको सूचनामा उल्लेख छ । यद्वपी पौडेलले वनमा आगो लगाउने उद्देश्यले नभई आफ्नो खरबारीमा सुकेका घसेटामा लगाएको आगो अनियन्त्रित भई सामुदायिक जंगलमा फैलिएको जिकीर गरेका छन् ।

प्रहरीले आरोपी पौडेललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीको लागि डिभिजनवन कार्यालय बगरमा कास्कीमा पठाएको जनाएको छ ।