कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने

-


     क्लिक गण्डकी     
     वैशाख १८ गते २०८१ मा प्रकाशित


कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने

कास्कीलाई सडक आश्रित मानवमुक्त बनाउने

पोखरा, १८ बैशाख/ जिल्ला समन्वय समिति कास्कीले सडक आश्रीत सहयोगापेक्षी मानवमुक्त जिल्ला बनाउन कास्की जिल्लास्तरीय समन्वय बैठक एवं अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा उपप्रमुख सरिता मालले सडक मानवमुक्त जिल्ला प्रदेश र मुलुक बनाउन सबै सरोकारवालाको सामूहिक प्रयासले मात्रै सम्भव हुने उल्लेख गरे । उनले कार्यान्वयनका लागि समन्वय बैठक आयोजना गरिएको बताइन् ।

मालले अब कास्कीका कुनै पनि पालिकामा सडक आश्रित मानव नहुने गरी ऊनीहरूको उद्धार, पुनस्र्थापना र उपचारका लागि उपयुक्त कानुन तथा नीति निर्माण गरि कार्यक्रम बनाउन स्थानीय तहहरूलाइ आग्रह गरिन् ।

गाउँपालिका महासंघ गण्डकी प्रदेशका अध्यक्ष समेत रहेका रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले गण्डकी प्रदेश सरकारले नै २०८२ भित्र सडक मानवमुक्त प्रदेश कार्यक्रम घोषणा गरिसकेको अवस्थामा सो को प्रभावकारी कार्यान्वयनका लागि आफूहरू हातेमालो गर्दै आवश्यक नीति निर्माण गरेर आगामी आर्थिक वर्षमा विशेष कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले सडक मानवमुक्त पालिका निर्माणका लागि आफ्नो पालिका प्रतिबद्धताका साथ लाग्ने उल्लेख गरे । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले हरेक नागरिकहरूको मानव अधिकारको पुर्ण प्रत्याभूति सहितको जिल्लाका लागि आफ्नो पालिकाको तर्फबाट कुनै कसर बाँकी नराख्ने उल्लेख गरिन् ।

मानव सेवा आश्रम पोखराका कार्यक्रम प्रमुख सदीश पुनले गण्डकी प्रदेशमा सडक आश्रित मानवको अवस्था, उद्धारमा भएका कार्यहरूसहित मानव अधिकारको क्षेत्रमा नागरिकले पाउनुपर्ने संवैधानिक तथा कानुनी व्यवस्थाको बारेमा परिचर्चा गरे ।

कार्यक्रममा कास्कीका पालिकाहरूका प्रमुख, उपप्रमुख कार्यकारी अधिकृत, जिससका सदस्यहरूसहित सरोकारवाला सरकारी निकायहरूको उपस्थिति रहेको जिसस कास्कीका निमित्त कार्यालय प्रमुख सरोज आचार्यले जानकारी दिए ।

जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता मालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य राजु अधिकारीले राखे भने सञ्चालन रामजीप्रसाद लम्सालले गरेका थिए ।