पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापक सहित ८ जनालाई वन मुद्दा

-


     क्लिक गण्डकी     
     वैशाख १ गते २०८१ मा प्रकाशित


पोखराको गण्डकी बोर्डिङका प्रधानाध्यापक सहित ८ जनालाई वन मुद्दा

गण्डकी बोर्डिङ

पोखरा, १ बैशाख/ गण्डकी बोर्डिङको हाताभित्रका रुख काटेर बेचेको अभियोगमा स्कुलका प्रधानाध्यापक सहित ८ जनालाई जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

पोखरा १६ मा रहेको विद्यालय हाताभित्रका सिसौ, सल्ला लगायतका रुखहरु काटेर बिक्री गरेको भन्दै डिभिजन वन कार्यालय कास्कीले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

स्कुलभित्रका रूखहरू कटान गरी बाहिर फर्निचरमा बिक्री गरेको भन्ने उजुरीपछि जाँचबुझ एवं अनुसन्धान गर्दा स्कुल परिसरको खेलकुद ग्राउण्ड, छात्राबास र कम्पाउण्डमा रहेका विभिन्न २५ वटा रूखहरू काटिएको पाइएको डिभिजन वन कार्यालयका सूचना अधिकारी हरिप्रसाद गौतमले जानकारी दिए ।

वन नियमावली, २०७९ को दफा ३७ बमोजिमको प्रक्रिया पूरा नगरी कटान गरेको, रुखहरूबाट उत्पादित दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले कोटेशनबाट लिलाम बढाबढ गरी ६० हजारमा बिक्री गरेको अभियोग छ ।

सिनियर म्यानेजमेन्ट टिम भनिएका प्रधानाध्यापक वीरेन्द्र खड्कासमेतले रूख हटाउने स्वीकृती नलिई रूख कटान गरी दाउरा बेचबिखन गरेको भन्दै ३ लाख ७९ हजार ४ सय बराबरको वन पैदावार हानी नोक्सानी गरेको अभियोगमा उल्लेख छ ।
खड्कासहित ८ जनालाई १० हजार जरिवाना तथा ६ महिनासम्म कैद सजाय माग दाबी गरिएको छ ।

पोखरा–१६ का लोकबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णबहादुर थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र शुक्लागण्डकी–९ का यज्ञराज शर्माविरुद्ध चैत २७ गते मुद्दा दायर गरिएको सूचना अधिकारी गौतमले जानकारी दिए ।