पोखरामा बजार अनुगमन म्यादः इमान ट्रेडर्सलाई एक लाख जरिवाना

-


     क्लिक गण्डकी     
     चैत्र २७ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, २७ चैत/ पोखरामा बजार अनुगमन गर्दा म्याद गुज्रेका सामान विक्री गरेको पाएपछि एक लाख जरिवाना तोकेको छ । पोखरा १६ लामाचौरमा रहेको इमान ट्रेडर्सले म्याद गुज्रेका सामान विक्री वितरण गरेको पाइएपछि एक लाख रुपैयाँ जरिवाना तिराइएको छ ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको अगुवाईमा भएको अनुगमनमा म्याद गुज्रेका पेय पदार्थ बजार पठाएको पाइएपछि एक लाख रुपैयाँ जरिवाना गरिएको निर्देशनालयका निर्देशक इश्वरी प्रसाद रेग्मीले जानकारी दिए ।

बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको वितरक रहेको उक्त ट्रेडर्सले बजारमा म्याद नाघेका पेय पदार्थ पठाएको गुनासो आएपछि अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा म्याद नाघेको पेय पदार्थ बजार पठाएको पाइएको र ट्रेडर्सकै गोदाममा समेत म्याद नाघेका पेय पदार्थ प्रशस्त भेटिएपछि जरिवाना गराइएको हो ।

अनुगमनका क्रममा भेटिएका अन्दाजी ९ लाखभन्दा बढी मूल्य पर्ने म्याद नाघेका पेय पदार्थ अनुगमन समितिकै उपस्थितिमा तीन दिन भित्र नष्ट गर्ने व्यवस्था मिलाएर कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।

उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ को खण्ड ‘च’ बमोजिमको कसुर गरेको र सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) देखि (ङ) बमोजिम कारबाही गरिएको निर्देशक रेग्मीले जानकारी दिए । उनका अनुसार सानोठूलो कोक, फेन्टा र स्प्राइट गरेर म्याद नाघेको १९ हजार ३९४ बोत्तल भेट्टिएको हो ।

अनगुमनमा सहभागी उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले म्याद नाघेका पेय पदार्थ डिस्टिव्युटरले नै बेच्नुले उपभोक्ता प्रति ठूलो हेलचक्राई देखिएको बताए ।

बजारमा म्याद नाघेका कोक लगायतका पेयपदार्थ अत्याधिक मात्रमा आएको हुनसक्ने भन्दै ख्याल गर्न उनले सबै उपभोक्तालाई आग्रह समेत गरेका छन् । अनुगमनका क्रममा पोखरा १६ मा रहेको सरुन स्टोर्समा म्याद नागेका तीन हजार २६५ रुपैयाँ मूल्य बराबरका कोक, फेण्टा र रियल जुस नष्ट गरिएको थियो । उक्त ट्रेडर्सलाई साइनबोर्ड राख्न, मूल्य सूची देखिने ठाउँमा राख्न र बिल दिन निर्देशन दिइएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका प्रशासकीय अधिकृत मुकुन्दराज पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक सूर्यबहादुर थापामगर, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक पूर्णकला थापा, उपभोक्ता हित संरक्षण निर्देशनालयका अधिकृत अमर नेपाली, राम प्रसाद पौडेल र नगेन्द्र पौडेल लगायतको सहभागिता थियो ।