
हरिचोक स्थित लान्द्रुक पेट्रोल पम्प एक साता भित्र हटाउन निर्देशन
पोखरा, २६ चैत्र / पोखरा महानगरपालिका वडा नम्बर १ र २ हरिचोकमा पुष्पलाल मध्य पहाडी लोक मार्ग विस्तारको काम भइरहेको छ ।
सो क्रममा वडा नम्बर १ तर्फ सडकको सेन्टर पोइन्टबाट १२.५ मिटरमा नाला निर्माण गर्दा नाला नागबेली बन्ने अवस्था आएपछि यसलाई सिधा बनाई उचित व्यवस्थापन गर्न स्थानीयले गरेको मागको सम्बोधनका लागि स्थलगत अवलोकन गरिएको छ ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहन कुमार थापा, वडा प्रहरीका कार्यालय बगरका प्रमुख, वडा नम्बर १ का वडा अध्यक्ष साहारा प्रधान, वडा नम्बर २ का वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग लगायत वडाका जनप्रतिनिधि, आयोजनाका प्राविधिकहरू, निर्माण व्यवसायी र स्थानीय अगुवाहरूको उस्थितीमा स्थलगत अनुगमन गरिएको हो ।
नाला सिधा बनाउँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको जमिनमा पर्ने भएकाले सोको व्यवस्थापनका लागि प्रतिष्ठानका अधिकारीहरूसँग पनि पटक पटक उच्चस्तरीय छलफल समेत भएका छन् । उपयुक्त निकास निकाल्ने प्रयत्न भने भइरहेको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो ।
‘यसका लागि हामीले उहाँहरूसँग पनि पटक पटक छलफलमा बसेका छौँ, उहाँले भन्नुभयो, यसको उपयुक्त निकास यथाशीघ्र खोजिने छ ।’ हरिचोक जस्तो व्यस्त चोकमा सडक जति फराकिलो बनाउन सकियो त्यो त्यति नै सुरक्षित हुने उहाँले बताउनुभयो । नाला सिधा बनाउनु पर्ने स्थानीयको सरोकार सम्बोधनका लागि नियमानुसार निर्णय लिइने उहाँले बताउनुभयो । करिब ५० मिटर नाला निर्माणमा यो समस्या देखिएको हो ।
हरिचोकको वडा नं।१ तर्फ रहेको लान्दु्रक पेट्रोल पम्प र त्यस क्षेत्रमा रहेका टहराहरू सात दिन भित्र हटाउन कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे निर्देशन दिनुभयो ।
सडकको राइटअफ वे भित्रका सबै संरचनाहरू तोकिएको समय भित्र हटाउने अन्यथा नियमानुसार कारबाही गरिने उहाँको निर्देशन छ । हरिचोकको सडक छेउमा लान्दु्रक पेट्रोल पम्प वर्षौँदेखि सडकको राइटअफ वे भित्र सञ्चालित छ ।
विस्तारको काम भइरहेको पुष्पलाल मध्य पहाडी लोक मार्गको क्षेत्राधिकारमा पर्ने राष्ट्रिय मावि तर्फका टहराहरू समेत यथाशीघ्र हटाउन निर्देशन गरिएको छ ।
सडकको राइट वे क्लियर नहुँदा सडक निर्माणको कार्य विलम्ब हुने र विभिन्न अवरोधहरू सृजना हुने भएकाले त्यस प्रकार निययविपरितका संरचनाहरू तत्काल हटाउन निर्देशन गरिएको वडा अध्यक्ष साहारा प्रधान र दिवसमान प्रधानाङ्गले बताएका छन् । यस सम्बन्धमा स्थानीयहरूसँग विभिन्न चरणमा छलफल तथा संवादहरू गरिएका थिए ।





