
सुशान्त बस्याल
काठमाडौं, १३ चैत/ सवारी दुर्घटनामा परी घाइते भएका स्ट्यान्ड अप कमेडियन सुशान्त बस्यालको स्वास्थ सुधारोन्मुख देखीएको छ । पूरा होसमा नआए पनि उनले केही प्रतिक्रिया जनाउन थालेको अस्पतालले जानकारी दिएको छ ।
दुर्घटनास्थलबाट ल्याएर सुशान्तसहित ४ जनालाई मध्यपुर ठिमी अस्पतालमा भर्ना गरिएको थियो । उनीहरुमध्ये क्रिटिकल अवस्थामा रहेका सुशान्तलाई तत्कालै भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो ।
आफैं श्वासप्रश्वासका लागि सक्षम भएपछि हिजो उनलाई भेन्टिलेटरबाट हटाइएको छ । अहिले आइसीयूमा राखेर उपचार भइरहेको छ । अस्पतालका अनुसार सुशान्तले हातगोडा अलिअलि चलाउन थालेका छन् ।
कसैले बोलाउँदा हल्का आँखा खोल्छन् । आज मुखबाट आवाज पनि निस्किएको थियो । यद्यपि, उनी खतरामुक्त भइनसकेको अस्पतालका चिकित्सकको भनाई छ ।
अस्पतालमा रहेका पवन भट्टराई र रजनिश अर्याल डिस्चार्ज भएका छन् । पवनको च्यापुमा र रजनिशको नाकमा चोट लागेको थियो । प्रकृती गिरी भने अस्पतालमै छिन् ।
टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा अनियन्त्रित भएर रोकिराखेको टिप्परसँग ठोक्किएको थियो ।
कारमा भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई सवार थिए । मदिरा सेवन गरी कार चलाएर दुर्घटना गराएको आरोपमा प्रहरी नियन्त्रणमा रहेका भण्डारी शनिबार साँझ हाजिर जमानीमा रिहा भएका छन् ।





