कास्कीको सिक्लेस लगेर श्रीमतीले श्रीमान्को हत्या

-


     क्लिक गण्डकी     
     चैत्र ८ गते २०८० मा प्रकाशित


शव

पोखरा, ८ चैत/ कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा भेटिएको शव सिन्धुपाल्चोक जुगल गाउँपालिका–३ गुम्बाका रामलाल तामाङको भएको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आरोपमा रामलालकी श्रीमती सहित चार जना पक्राउ परेका छन् । सिक्लेस गाउँबाट दक्षिण पाखामा चैत ३ गते पुरुषको शव भेटिएको थियो ।

मादीमा निर्माणाधीन अपर जिरो मादी र मादमे खोला हाइड्रोपावर जाने बाटोभन्दा तल स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले तालिम प्राप्त कुकुर समेत लगेर अनुसन्धान गरेको थियो । रामलाल र उनकी श्रीमती कान्छी भनिने च्याङ्मा तामाङको केही वर्षदेखि सम्बन्ध बिग्रिएकाले अलग्गै बस्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ ।

रामलालको हत्याको योजना च्याङ्माले नै बनाएको प्रारम्भिक अनुसन्धानमा देखीएको प्रहरीले बतायो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले च्याङ्मासँगै धनबहादुर लामा, नवीन तामाङ र अजित तामाङलाई पक्राउ गरेको छ ।

धनबहादुर, नवीन तामाङ र अजितले हाइड्रोमा काम गर्ने भनेर रामलाललाई सिक्लेस ल्याएका थिए । सिक्लेस गाउँभन्दा दक्षिण पाखोमा पुगेपछि उनीहरुले रामलालको हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार पक्राउ परेकै एक जनासँग च्याङ्माको सम्बन्ध रहेको पाइएको छ । थप अनुसन्धान जारी रहेका प्रहरीको भनाई छ ।