
पोखरा, ७ चैत्र / धुँवा र तुवालोले आकाश ढाक्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अवरुद्ध भएको छ ।
बुधवार विहान पोखराबाट बुद्ध एयरको दुइटा र यति एयरको एउटा फ्लाइट पोखराबाट काठमाडौं उँडे पनि त्यसपछि उडान अवरुद्ध भएको विमानस्थलका सुचना अधिकारी जशोदा रेग्मीले जानकारी दिइन् ।
पोखराबाट काठमाडौ विहान तीनवटा जहाज गए पनि काठमाडौंबाट पोखरा एउटा पनि जहाज आउन नसकेको उनले बताइन् ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट जहाजले उडान तथा अवतरण गर्न कम्तिमा ३ हजार ८ सय मिटर टाढासम्म आँखाले देखिनुपर्छ । धुँवा र तुवालोले गर्दा रनवेको एउटा छेउबाट अर्को छेउ पनि नदेखिएको विमानस्थलले जनाएको छ ।
आँखाले हेरेर मात्र उडान तथा अवतरण गर्ने भिजुअल फ्लाइट रुल अनुसार उडान तथा अवतरण गर्न भने ५ हजार मिटर टाढासम्म आँखाले देखिनुपर्ने उनको भनाई छ ।
दैनिक ३ हजारदेखि ४ हजारसम्म यात्रुले विमानस्थलको प्रयोग गर्छन ।





