
पोखरामा नगरप्रहरीले दुःख दिएको भन्दै मेयरलाई ज्ञापनपत्र, १७ बुदे माग राख्य
पोखरा, २९ फागुन/ पोखराको फुटपाथमा स्वरोजगार पसल र साना व्यवसायिक सञ्चालन गर्दै आएका व्यवसायीले दुःख दिएको भन्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाएका छन् ।
पोखराको सभागृहचोकबाट नाराबाजी सहित उनीहरु पोखरा महानगरपालिका अगाडी पुगेर कोण सभा परिणत भएको थियो ।
पोखरा महानगरपालिकाबाट खटिने नगर प्रहरीले अमर्यादित, अपमान शैलीमा दुःख दिने, सामान जफत गर्ने, दमन गर्ने र गालीगलौज सहित अश्लील व्यवहार देखाउने गरेको आरोप लगाए ।
नगर प्रहरीबाट हुँदै आएको अमानवीय हर्कतका विरुद्ध स्वरोजगार पसल तथा साना व्यवसायिक श्रमिकहरू आन्दोलन गर्न बाध्य भएको उनीहरुको भनाई छ ।
उनीहरुले हप्ताको अवधिमा उचित सुनुवाई र सम्बोधन नभएमा र स्वरोजगार पसल तथा साना व्यवासायिक श्रमिकहरूको दैनिकीमाथि खेलवाड गरिएमा जस्तोसुकै संघर्ष अगाडि बढाउन तयार रहेको उनीको भनाई छ ।
अखिल नेपाल क्रान्तिकारी स्वरोजगार पसल श्रमिक संघको आयोजना भएको विरोध कार्यक्रममा संयोजक गिता सुनारले ज्ञापनपत्र बुझाइन् ।
उनीहरुका माग
१ स्वरोजगार पसल र साना व्यवसायहरू सञ्चालनको लागि उचित भाडा तिर्ने गरी उपयुक्त स्थानमा सरकारी जग्गा र भवन उपलब्ध गराइयोस् ।
२ महानगर प्रहरीबाट हुँदै आएको गालीगलौज, अशिष्ट शब्द प्रयोग र महिलाप्रति अश्लील दुर्व्यवहार तुरुन्त बन्द गरियोस् ।
३ सरकारी जग्गा र अन्य विकल्प उपलब्ध नहुने बेलासम्म स्वतन्त्रपूर्वक सामान बिक्री गर्न दिइयोस् ।
४ महानगर प्रहरीद्वारा जबरजस्ती बल प्रयोग र दमन गरेर सामान खोस्ने कार्य बन्द गरियोस् ।
५ सामान बेच्न तथा पसल चलाउनको लागि निश्चित क्षेत्र र निश्चित समयसीमा तोकियोस् ।
६ महानगर प्रहरीद्वारा जफत गरिएका सामान पीडितहरूलाई स(सम्मान फिर्ता गरियोस् ।
७ स्वरोजगार साना व्यवसाय र सडक पसल श्रमिकका समस्याहरूको समाधान गरियोस् ।
८ खुल्ला तथा अनौपचारिक क्षेत्रमा श्रमिकहरूको हकअधिकारको सुनिश्चितता गरियोस् ।
९ स्वरोजगार पसल श्रमिकहरू पलायन बन्ने स्थितिलाई रोकियोस् ।
१० मानबअधिकारको सवालसँगै कष्टकर बन्दै गएको श्रमिकको जीवनयापनलाई सरल र सहज बनाइयोस् ।
११ बजारभाउ र मूल्यवृद्धिको अनुपातमा श्रमिकको उचित तलब भत्ता र जनजीविकाको सवाललाई सम्बोधन गरियोस् ।
१२ साना व्यवसाय पसल श्रमिक हकहितसहितको लगानीमैत्री वातावरण निर्माण गरियोस् ।
१३ स्वरोजगार साना व्यवसाय पसल श्रमिकहरूको भविष्यलाई अनिश्चय र अनिर्णयको घेराबाट मुक्त गरियोस् ।
१४ स्वरोजगार पसल सञ्चालन र व्यापार प्रवर्द्धनमा महानगरपालिकाको सहयोग, व्यवस्थापन र पहल कायम राखियोस् ।
१५ स्वरोजगार पसल श्रमिकको प्रमाणीकरण गरियोस् ।
१६ सम्पूर्ण साना ठूला व्यवसायीहरूलाई करको दायरामा ल्याइयोस् ।
१७ पोखरा महानगरभित्र रहेका सम्पूर्ण साना ठूला पसलहरूमा अनुगमन तुरुन्त गरियोस् ।





