
पुम्दिकोट विशाल महादेव
पोखरा, २५ फागुन/ पोखरा महानगरपालिका– २२ पुम्दी भुम्दीमा रहेको बिशाल महादेवको मूर्ति परिसरमा एकै दिन १० हजार बढि पुगेका छन् ।
महाशिवरात्रि पर्वको अवसरमा आज बिहानदेखि दर्शनार्थी र पर्यटकहरूको अत्यधिक भिड भएको पुम्दीकोट विकास संस्थाका अध्यक्ष चन्द्रकान्त बरालले बताए ।
उनले महाशिवरात्रि पर्वको अवसरमा १० हजारभन्दा बढी दर्शनार्थीहरु पुम्दीकोटमा एकै दिनमा भुमेश्वर (महादेव) को दर्शन गर्न तथा दूध चढाउन आएको बताए ।
दर्शनार्थीहरुले बिशाल महादेवको मूर्ति परिसरमा पुगेर पूजाआजासहित एक सय ८ शिव लिङ्गमा दूध समेत चढाएका छन् ।
बिहानैदेखि अत्यधिक भिड भएकोले यसे क्षेत्रमा ट्राफिक व्यवस्थापनदेखि दर्शनार्थीहरुलाई व्यवस्थापन गर्न समेत हम्मेहम्मे भएको उनले बताए ।
त्यसै गरी पोखराका विभिन्न शिवालय मन्दिरहरूमा धुमधामका साथ पूजाआजा भएको छ । गुप्तेश्वर गुफा, सृजनाचोकमा रहेको पशुपतिनाथ मन्दिर, केदारेश्वर महादेवमणि, पोखरा ७ फारममा भएको शिव मन्दिर, पोखरा २३ ठुलाखेतमा रहेको सिद्ध बराह मन्दिर लगायतका शिव मन्दिरहरूमा भक्तजनहरूको भिड लागेको छ ।
साँझ चोक चौतारी, शिव मन्दिर लगाएतका स्थलमा शिव ध्वनि लगाउने उखु खाने उखु पट्काउने चलन रहेको छ ।





