रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिको भोट हाल्न पाउने

-


     क्लिक गण्डकी     
     फागुन २४ गते २०८० मा प्रकाशित


रसियाली नागरिकले पोखराबाटै राष्ट्रपतिको भोट हाल्न पाउने

Russian citizens can vote for the president from Pokhara

पोखरा, २० फागुन/ मार्च १५ देखि १७ सम्म हुने रसियाली राष्ट्रपति निर्वाचनका लागि नेपालबाट मतदान गर्न सकिने छ । मतदानका लागि पोखरा र काठमाडौंमा मतदानस्थल रहने नेपालस्थित रसियाली दुतावासले जानकारी दिएको छ ।

नेपालमा रहेका रसियाली नागरिकलाई मतदान गर्न सहज होस भनेर पोखरा र काठमाडौंमा मतदानस्थल राख्ने रसियाली राजदुतावासका प्रतिनिधि अलेक्जेन्डर इभासेभले जानकारी दिए ।

पोखरामा मार्च १५ (चैत २) र काठमाडौंमा मार्च १७ (चैत ४ ) का दिन निर्वाचन हुनेछ । कर्मचारी तथा घुमघामका लागि आएका पर्यटकले राष्ट्रपतिका लागि मत दिन सकुन् भनेर यस्तो व्यवस्था गरेको उनले बताए ।

नेपालमा स्थायी रुपमा बसेका करिब २ सय रसियाली कर्मचारीले भोट हाल्ने उनले बताए । त्यसबाहेक त्यो बेलासम्म घुम्न आउने रसियाली नागरिकले पनि आफ्नो अनुकुल पारेर पोखरा वा काठमाडौंबाट सिधै मत दिन पाउनेछन् । पोखरामा होटल बाराहीमा मतदानस्थल तय गरिएको छ भने काठमाडौंमा दुतावासमै मतदानस्थल रहनेछ ।

बिहान ८ देखि मध्यान्ह १२ बजेसम्म पोखराबाट मतदाताले मत दिन पाउनेछन् । तर, मत दिनका लागि मतदाताले अनिवार्य रुपमा राहदानी देखाउनुपर्ने छ । नेपाल बाहेक अन्य मुलुकमा पनि मतदानस्थल रहनेछन् । करिब १९ लाख रसियाली मतदाताले रसिया भन्दा बाहिरका मुलुकबाट मतदान गर्नेछन् ।

रसियाली राष्ट्रपतिको निर्वाचनमा चारजना उम्मेद्वार चुनावी मैदानमा छन् । वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिन स्वतन्त्र उम्मेद्वारको रुपमा चुनावी मैदानमा छन् । पाँचौपटकको कार्यकालका लागि पुटिन निर्वाचनमा होमिएका छन् ।

पुटिनसँगै न्यू पिपल पार्टीका भ्लादिस्लाभ डाभान्कोट, नेशनलिष्ट लिवरल डेमोक्रयाटिक पार्टीका लिओनिड स्लुत्स्की, कम्यूनिष्ट पार्टीका निकोलाइ खरितोलोभ रहेका छन् ।



Tags: