
बालुवाटारमा गठबन्धन बैठकः नयाँमन्त्रिमा पदम गिरी, बर्षमान पुन र रवि लामिछाने, प्रदेश सरकारको नेतृत्व फेरिने
पोखरा, २१ फागुन / प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक चलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन छाडेर एमालेसँग सहकार्य थाल्ने निर्णय गरेपछि बालुवाटारमा बैठक चलेको हो ।
गठबन्धनमा फेरबदलसँगै सोमबार नै सानो आकारको मन्त्रिमण्डल बनाउने तयारीका लागि बैठक चलेको हो । एमालेबाट पदम गिरी र माओवादीबाट वर्षमान पुन मन्त्री बन्दैछन् भने रास्वपाबाट रवि लामिछाने उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी लिएर सरकारमा जाने तयारीमा छ ।
बैठकमा माओेवादीबाट प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव वर्षमान पुन, एमालेबाट ओलीसहित उपाध्यक्ष बिष्णु पौडेल, महासचिव शंकर पोखरेल र रास्वपाबाट सभापति लामिछाने सहभागी छन् ।
नयाँ गठबन्धनसँग जनमत र नागरिक उन्मुक्ति पार्टी पनि संवादमा छन् भने माओवादीले माधव नेपाल नेतृत्वको नेकपा एसलाई पनि समेट्ने निर्णय गरेको छ ।
नयाँ गठबन्धनमा सातै प्रदेशको मुख्यमन्त्री आलोपालो गर्ने सहमति भएको छ । कांग्रेस नेतृत्वको गठबन्धन भत्किएर नयाँ गठबन्धन बनेपछि फेरि प्रदेश सरकारको नेतृत्व फेरिन लागेका हुन् । अहिले कांग्रेस नेतृत्वको चार वटा प्रदेश सरकार छन् ।





