
प्रदेश सांसद विन्दुकुमार थापाको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च
पोखरा, २७ माघ/ गण्डकी प्रदेश सभा सदस्य विन्दुकुमार थापाले प्रदेश सरकारबाट प्राप्त गरेको सबै तलबभत्ता सामाजिक कार्यमा खर्च गरेका छन् । गण्डकी प्रदेश सरकारको पूर्व कानुन, संचार तथा प्रदेशसभा मामिला मन्त्री थापाले २०७९ पुस २५ गतेदेखि हालसम्म प्राप्त गरेको तलबभत्तामा थप गरी विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेका हुन् ।
उनले विभिन्न शिर्षकमा ११ लाख १२ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेको शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।
नेपाल प्रेस युनियन, कास्कीको समन्वयमा गरिएको पत्रकार सम्मेलनमा उनले प्रदेशको दोस्रो कार्यकाल सुरु भएपछि अहिलेसम्म वैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधासहित बैंक खातामा ८ लाख ९६ हजार १ सय ६० रुपैयाँ जम्मा भएको जानकारी दिए ।
त्यसमा २ लाख १६ हजार ४ सय ४५ रुपैयाँ थप गरी खर्च गरिएको नेपाली कांग्रेसको गण्डकी प्रदेशसभा संसदीय दलको उपनेता समेत रहेका थापाले बताए ।
खर्च सार्वजनिक गर्दै सांसद थापाले राजनीति आफ्ना लागि सेवा भएको र यसलाई पेशाको रुपमा नलिएको बताए । कास्की क्षेत्र नम्बर २ ‘ख’ बाट दोस्रो कार्यकालको लागि गण्डकी प्रदेशसभा प्रतिनिधित्व गरेका थापाले सांसदको रुपमा अघिल्लो कार्यकाल केही सिक्ने, कानून निर्माण गर्ने, थिति बसाल्ने र जनताका चाहना अनुसारका विकास निर्माणमा सहजीकरण गर्दैमा बितेको बताए । अघिल्लो कार्यकालमा प्राप्त वैठकभत्ता, मासिक पारिश्रमिक र अन्य सुविधा सबै विकास निर्माण र सामाजिक कार्यमा खर्च गरेको सांसद थापाले बताए ।
अघिल्लो कार्यकालको निरन्तरता यो कार्यकालमा दिएको उनले सुनाए । ‘निस्वार्थ रुपले गरिने जनताको सेवा नै जनप्रतिनिधिको मुल ध्येय हुनुपर्छ र राज्यकोषको दोहन वा दुरुपयोगबाट जनप्रतिनिधि टाढै रहनुपर्छ,’ उनले भने, ‘यही सन्दर्भमा, प्रदेशसभा सचिवालयबाट २०७९ साल पौष २५ गतेदेखि हालसम्म बैठकभत्तादेखि मासिक पारिश्रमिक र अन्य सुविधासमेतमा थप गरी विकास निर्माण र सामाजिक कार्यमा खर्च गरि यो कार्यकालमा पनि निरन्तरता दिएको व्यहोरा यहाँहरु समक्ष राख्न चाहन्छु ।’ उनले गण्डकी सरकार प्रदेशको समृद्धि र विकासका लागि प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
कुन शीर्षकमा कति खर्च ?
सांसद थापाले बगाले कुल संरक्षण समितिको सामाजिक भवन बनाउन २ लाख रुपैयाँ सहयोग गरेका छन् । पोखरा २० को मौजा दलित समाज, मोहोरिया भुजेल समाज र आँटिघर दलित समाजका लागि सामाजिक कार्यका लागि आवश्यक सामाग्री खरिद गर्न १ लाख रुपैयाँ दिएका छन् । पोखरा ९ को विभिन्न स्थानमा सडक बत्ती जडान गर्नका लागि ४५ हजार रुपैयाँ सहयोग गरेका छन् । दीप यूनाइटेड क्लबलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
सांसद थापाका अनुसार उनले जाजरकोट र रुकुमको भुकम्प प्रभावितलाई राहत पनि दिएका छन् । उनले ३७ हजार १ सय ५ रुपैयाँ राहत सहयोग गरेका हुन् । उनले नीजि घरमा धारा जडानका लागि पनि सहयोग गरेका छन् । जस अनुसार पोखरा १६ को कमला विक, हिरा विक, दिपा विक, मिठु नेपाली र माया नेपालीको घरमा धारा जडानका लागि ३५ हजार दिएका छन् ।
उनले पोखरा ८ एअरपोर्ट टोल विकास संस्थाको भवन निर्माण, पोखरा ११ को जन कल्याण क्लब, पोखरा ८ को फिर्के खानेपानी तथा ढल उपभोक्ता समिति, पोखरा ९ को चण्डिका मन्दिर निर्माण समिति, पोखरा ८ की क्यान्सर बिरामी लक्ष्मी छत्कुली, सर्भेययर्स सोसाइटी, कास्की, पोखरा १६ को हिमालय क्लब र जलारी समुह, कास्कीलाई २५/२५ हजार रुपैयाँ सहयोग गरेका छन् । पोखरा १६ को घर्ती पधेरा ठुलाटारीमा पाइप खरिदका लागि २४ हजार ५ सय, जाल्पादेवी महिला उद्धार समुहलाई धुप बनाउने तालिमका लागि २३ हजार, पोखरा १६ को जोगीमणी टोलमा खानेपानी पाइप खरिदका लागि २१ हजार रुपैयाँ सहयोग गरेका छन् ।
यसैगरी सांसद थापाले श्रृखंला क्लबको फुटबल प्रतियोगिता, रानीपौवा तायाः मचा नाँच समिति, पोखरा १६ को घुरकुना आमा समुह, पोखरा १६ कै सुकाले टोल, सोही वडाको हृययको आवाज महिला समुहलाई २०/२० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । यस्तै मण्टेश्वरी एशोसियशन कास्कीले आयोजना गरेको मण्टेश्वरी चाइल्ड ट्यालेण्ट शो २०८०, बालाकोट युवा क्लब, महाशिला पर्वत, पोखरा ११ को जगत जननी महिला समुह, पोखरा २० का क्यान्सर विरामी निर्मल बास्तोलालाई पनि सांसद थापाले १५/१५ हजार रुपैयाँ आर्थिक सहयोग दिएका छन् ।
यस्तै मानव सेवा आश्रममा गृह महिला श्रमिक संघ मार्फत बाटेको धुप बनाउने प्रशिक्षण, पोखरा ११ को राधाकृष्ण टोलको सामाजिक भवन निर्माण, पोखरा १६ को कान्तिया डाँडामा सडक बत्ती जडान, पोखरा २० को यूनाइटेड क्लब भलाम, पोखरा १६ की क्यान्सर रोग विरामी राधा गायक, पोखरा ८ को माफ पाम परिवार, पोखरा ४ को गोपालजी मन्दिर सेवा समिति, नेपाल अर्बुद रोग निवारण संघ, पोखरा १५ का क्यान्स रोग विरामी ओमबहादुर गुरुङलाई सांसद थापाले १०/१० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
विश्व हिन्दु महासंघ, नयाँ बजार साँस्कृतिक समितिको भैरव नाच र पोखरा ११ की मुटुरोग विरामी मिठु सर्किनीलाई सांसद थापाले ५/५ हजार रुपैयाँ सहयोग गरेका छन् ।
| क्र.सं. | संस्था | विवरण | रकम रु. |
| १ | शान्ति टोल, पोखरा १६ | कमला विक, हिरा विक, दिपा मगर, मिठु नेपाली र माया नेपालीकोमा, खानेपानी धारा जडान | ३५,०००।०० |
| २ | मानव सेवा आश्रममा गृह श्रमिक संघ, कास्की मार्फत् बाटेको धुप बनाउन प्रशिक्षण | आर्थिक सहयोग | १०,०००।०० |
| ३ | राधाकृष्ण टोल, पोखरा ११ | सामाजिक भवन निर्माण सहयोग | १०,०००।०० |
| ४ | दिप युनाइटेड क्लब, पोखरा १६ | आर्थिक सहयोग | ४०,०००।०० |
| ५ | हृदयको आवाज महिला समुह, पोखरा १६ | आर्थिक सहयोग | २०,०००।०० |
| ६ | एयरपोर्ट टोल विकास संस्था, पोखरा ८ | भवन निर्माण सहयोग | २५,०००।०० |
| ७ | शुकाले टोल, पोखरा १६ | बाटो निर्माण सहयोग | २०,०००।०० |
| ८ | कान्तिया डाँडा, पोखरा १६ | सडक बत्ति जडान सहयोग | १०,०००।०० |
| ९ | घुरकुना आमा समुह, पोखरा १६ | आर्थिक सहयोग | २०,०००।०० |
| १० | युनाइटेड क्लव भलाम, डाँडागाउ, पोखरा २० | आर्थिक सहयोग | १०,०००।०० |
| ११ | मौजा दलित समाज, माहोरिया भुजेल समाज र आँटिघर दलित समाज, पोखरा २० | सामाजिक कार्यको लागि आवश्यक समाग्री सहयोग | १,००,०००।०० |
| १२ | राधा गायक, पोखरा १६ | आर्थिक सहयोग (क्यान्सर रोग बिरामी) | १०,०००।०० |
| १३ | जोगीमणी टोल, पोखरा १६ | खानेपानी पाइप खरिद | २१,०००।०० |
| १४ | मिठु सर्किनी, पोखरा ११ | आर्थिक सहयोग (मुटु रोग बिरामी) | ५,०००।०० |
| १५ | प्रगतिशिल आमा समुह, पोखरा ८ | आर्थिक सहयोग | १५,०००।०० |
| १६ | शान्ति मा.वि., पोखरा १६ | विद्यालय बस खरिद आर्थिक सहयोग | ७५,०००।०० |
| १७ | जाल्पादेवी महिला उद्धार समुह, पोखरा ८ | धुप बनाउने तालिम | २३,०००।०० |
| १८ | नयाँबजार साँस्कृतिक समिति, पोखरा ९ | आर्थिक सहयोग (भैरव नाँच) | ५,०००।०० |
| १९ | जनकल्याण क्लव, पोखरा ११ | आर्थिक सहयोग | २५,०००।०० |
| २० | चिउली पार्चे तमु समाज, पोखरा १६ | आर्थिक सहयोग, कुर्ची खरिद | २२,०००।०० |
| २१ | बगाले कुल संरक्षण समिति | सामाजिक भवन निर्माण सहयोग | २,००,०००।०० |
| २२ | माफ पाम परिवार, दमकल मार्ग, पोखरा ८ | आर्थिक सहयोग | १०,०००।०० |
| २३ | निर्मल बास्तोला, पोखरा २० | आर्थिक सहयोग (क्यान्सर बिरामी) | १५,०००।०० |
| २४ | फिर्के खानेपानी तथा ढल उपभोक्ता समिति, पोखरा ८ | खानेपानी ट्याङ्की मर्मत | २५,०००।०० |
| २५ | चण्डिका मन्दिर निर्माण समिति, पोखरा ९ | आर्थिक सहयोग | २५,०००।०० |
| २६ | रानीपौवा तायाः मचा नाँच समिति | आर्थिक सहयोग | २०,०००।०० |
| २७ | लक्ष्मी छत्कुली, पोखरा ८ | आर्थिक सहयोग (क्यान्सर बिरामी) | २५,०००।०० |
| २८ | सर्भेययर्स सोसाइटी, कास्की | आर्थिक सहयोग | २५,०००।०० |
| २९ | घर्तीपँधेरा, ठुलटारी, पोखरा १६ | सिचाँइ पाइप खरिद | २४,५००।०० |
| ३० | हिमालय क्लव, पोखरा १६ | आर्थिक सहयोग | २५,०००।०० |
| ३१ | जगत जननी महिला समुह, पोखरा ११ | आर्थिक सहयोग | १५,०००।०० |
| ३२ | विश्व हिन्दु महासंघ, कास्की | आर्थिक सहयोग | ५,०००।०० |
| ३३ | बालाकोट युवा क्लब, महाशिला, पर्वत | आर्थिक सहयोग | १५,०००।०० |
| ३४ | जाजरकोट र रुकुमको भुकम्प प्रभावित स्थान | भुकम्प राहत सहयोग | ३७,१०५।०० |
| ३५ | मण्टेश्वरी एशोसियशन कास्की | मण्टेश्वरी चाइल्ड ट्यालेन्ट सो २०८० | १५,०००।०० |
| ३६ | जलारी युवा समूह, कास्की | आर्थिक सहयोग | २५,०००।०० |
| ३७ | श्री गोपाजी मन्दिर सेवा समिति, पोखरा ४ | आर्थिक सहयोग | १०,०००।०० |
| ३८ | नेपाल अबुर्द रोग निवारण संस्था | आर्थिक सहयोग | १०,०००।०० |
| ३९ | श्रृङ्खला क्लव, पोखरा २० | आर्थिक सहयोग सेभेन ए साइड फुटबल प्रतियोगिता | २०,०००।०० |
| ४० | पोखरा ९ का विभिन्न स्थान | सडक बत्ति जडान | ४५,०००।०० |
| ४१ | ओम बहादुर गुरुङ, पोखरा १५ | आर्थिक सहयोग क्यान्सर विरामी | १०,०००।०० |
| जम्मा | ११,१२,६०५।०० | ||





