
विष्णुप्रसाद भण्डारी
पोखरा, २४ माघ/ मित्र मिलन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना अभियोगमा पक्राउ परेका विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन् । बुधबार जिल्ला अदालत कास्कीका न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीनलाई ७ लाख धरौटीमा रिहा गरेको हो ।
भण्डारीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले २ दिनअघि पक्राउ गरेको थियो । रिहापछि आफू निर्दोष रहेको दाबी गर्दै शुद्ध तारेखमै रिहा हुनुपर्ने उनले जिकिर गरे । तर, अदालतको आदेशलाई आफूले सम्मान गर्नुपर्ने उनी बताए ।
उनीविरुद्ध सहकारीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) किरण अधिकारीमार्फत बचतकर्ता बनेर सहकारीमा जोडिई चर्को मिटरव्याजमा सहकारीका अध्यक्ष, सञ्चालक र सहकारीलाई आफ्नो खातामा बचत देखाई रकम लिने गरेको वित्तीय र प्रहरी अनुन्धानका क्रममा खुलेको अभियोग छ ।
सहकारी अध्यक्ष रमण पौडेल र सिइओ अधिकारी मिलेर अन्य व्यक्तिको नाममा ‘फेक’ लोन सिर्जना गरी आफ्नो खातामा रकम पठाइएको भण्डारीको जिकिर छ । नियमनकारी निकाय रजिष्ट्रार कार्यालयले सहकारीलाई एउटा पनि सचेतनापत्र नपठाएको, छानबिनमा समेत लापरबाही भएको उनले बयान दिएका थिए ।
मित्रमिलन सहकारी ठगी प्रकरणमा विज्ञको प्रतिवेदनमा ३ हजार ४ सय ४६ जना पीडितको २६ करोड ८६ लाख ६४ हजार ६ सय ४६ रुपैयाँ ठगिएको खुलेकोमा समग्रमा जिल्ला सरकारी वकिल कार्यालयले कानुनबमोजिम सजाय र ३१ करोड ७८ लाख २२ हजार ८ सय ११ रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो । उक्त सहकारी ठगी प्रकरणमा आरोपित ३३ जनामध्ये २५ जना फरार छन् ।





