पोखरा महानगरको सभा सुरु, कर घटाउन समिति गठन

-


     क्लिक गण्डकी     
     माघ १ गते २०८० मा प्रकाशित


पोखरा महानगरको सभा सुरु, कर घटाउन समिति गठन

पोखरा महानगरको सभा सुरु, कर घटाउन समिति गठन

पोखरा, १ माघ/ पोखरा महानगरपालिकाको १४ औं सभा सुरु भएको हो । आइतबारको बैठकमा तीनवटा विधेयक टेबुल गरिएको छ भने एउटा विशेष समिति गठन गरिएको छ ।

बैठकले मालपोत र भूमिकरको शुल्क संशोधन गर्न विशेष समिति गठन गरिएको हो । आर्थिक ऐन संशोधनका लागि वडा नम्बर ४ का अध्यक्ष देवकृष्ण पराजुलीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको प्रवक्ता मोती तिमिल्सिनाले जानकारी दिए ।

समितिमा वडा नम्बर ११ का अध्यक्ष प्रेमप्रसाद कर्माचार्य, १३ का अध्यक्ष किरण बराल, पोखरा १५ का तोरण बानियाँ, १६ का अमृत तिमिल्सिना, २० गगाबहादुर जिसी सदस्य छन् ।

त्यसै गरी कार्य पालिका सदस्य निर्मल दियाली, हरिमाया विश्वकर्मा सदस्य र राजस्व शाखा प्रमुख दीपेन्द्र पण्डित सदस्य सचिव रहेका छन् । बाँकी ४ जना कांग्रेस र एमालेको सिफारिसमा थप गरिने छ ।

१५ दिनको म्याद दिएको समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउँने छ । सोही प्रतिवेदनका आधारमा सभामा आर्थिक ऐन संशोधनको प्रस्ताव राखेर छलफल हुनेछ । महानगरको कर अत्यधिक बढेको भन्दै करदाताहरुले गुनासो गरेपछि कांग्रेसका वडाध्यक्षहरूले मालपोत तथा भूमिकर घटाउनुपर्ने अडान राखेका छन् ।

बैठकमा भवन नियमित तथा अभिलेखीकरण सम्बन्धी कार्यविधि २०८०, आर्थिक ऐन २०८० को पहिलो संशोधन र बाल अधिकार सम्बन्धी ऐन २०७४ तेस्रो संशोधन विधेयक टेबुल भएको हो ।

यसबाहेक, न्यायिक समिति संयोजक मन्जुदेवी गुरुङले न्यायिक समितिको अर्ध वार्षिक प्रतिबेदन र सार्वजनिक लेखा समितिका संयोजक झपटबहादुर रानाभाटले लेखा समितिको प्रतिवेदन पेस गरेका छन् ।