
महिनाको अन्तिम शनिबार हिड्दै गाउँघर डुल्ने संस्कार बसाल्दै हाइकर्स क्लब
पोखरा, २९ पुस/ हाइकर्स क्लब नेपालको ४२ औं हाइकिङ सम्पन्न भएको छ । स्वास्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने मुल नाराका साथ पोखराबाट संचालित हाइकिङ हरेक महिनाको अन्तिम शनिबार हुन्छ । शनिबार आयोजित हाइकिङ पोखरा ७ नुवारथोक बुलौदीबाट सुरु भयो ।
हाइकर्स टिलीलाई संबोधन गर्दै पोखरा महानगरपालिका वडा नं.७ का वडा अध्यक्ष राममोहन आचार्यले आफु पनि दैनिक हिड्ने गरेको बताउदै हिडाइका साथसाथै पर्यटन उजागर गर्दै आएको हाइकर्स क्लब नेपालको अभियानमा आफु पनि सगैं रहने प्रतिबद्घता जनाउनु भयो । उहाँले जो हिडछ उ नै तन्दरुस्त र सक्रिय हुने बताउनु भयो ।
पहिलो पटक क्लबको हाइकिङमा जोडिनु भएका गोमा फाउन्डेशन नेपालकी अध्यक्ष गोमा पराजुलीले हिडेर आफ्नो विविध शारिरिक समस्या निवारण गरेको अनुभव सुनाउदै हाइकिङमा जोडिएर हिड्ने साथी पाएकोमा खुसी व्यक्त गर्नु भयो । अबका सबै हाइकिङमा आफु पनि सामेल हुने उहाँले बताउनु भयो ।
युवा व्यवसायी सुमन थापाले क्लबमा जोडिएर हिड्दा आफुलाई बेग्लै आनन्द लागेको बताउनु भयो । पर्यटन व्यवसायी घनश्याम अधिकारीले एक आपसको सम्बन्ध बढाउन र पर्यटन पर्वद्घनमा हाइकिङको ठूलो महत्व हुने बताउनु भयो । हाइकर्स क्लब नेपालको हाइकिङले गाउँ ठाउँको पर्यटन पर्वद्घन भएको बताउदै अभियान निरन्तर अगाडी बढाउन आग्रह गर्नु भयो । नेपाल प्रहरीबाट सेवा निवृत ७७ वर्षिय यम बहादुर रानाभाटले हाइकिङमा युवा उमेर समुह संगै हिड्दा आफु सगं पनि सोही उमेरकै जोस र सक्रियता भएको महसुसले उर्जा थप्ने गरेको बताउनुभयो ।
हाइकर्स क्लब संग निरन्तर हाइकिङ गर्दै आउनु भएका सामाजिक व्यक्तित्व जुना गुरुङले हाइकिङ महिनाको २ पटक गर्न आग्रह गनुभयो । नेपाली सेनामा कार्यरत ई श्याम प्रसाद दंगालले कार्यव्यस्ततामा रहदाको स्ट्रेसबाट मुक्त हुन आफु हाइकिङमा सहभागी हुदै आएको बताउनु भयो ।
क्लबका सचिब मधु अधिकारीले हाइकर्स क्लब हिडनेहरुको समुह भएकाले जो कोही निर्वाध जोडिन सक्ने र हाइकिङमा सहभागी हुन सक्ने बताउनु भयो । क्लबका अध्यक्ष कृष्ण रानाभाटले हाइकिङ मार्फत व्यक्तिको स्वास्थ्य सगैं युवाहरु लाइ जागरुक र पर्यटनलाई विस्तार गर्न मदत पुगेको बताउनु भयो ।
हाइकिङमा विधार्थी, गृहिणी महिला, विभिन्न पेशा व्यवसायमा आवद्घ युवा, सेवा र्निवृत आर्मी सहित २९ जना सहभागी थिए । पोखरा ७ न्वारथोकबाट सुरु भएको हाइकिङ पोखरा १८ को मेथ्लाङ डाडाँबाट देखिने फेवाताल,पोखरा शहर, मनोरम हिमश्रृखला, रक गार्डेन सहित ग्रामिण वस्ती र विकासको अवलोकन गर्दै पोखरा ६ वङ्लादी फेवा फुट ट्रयाकमा आएर सम्पन्न भएको थियो ।