विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत

-


     क्लिक गण्डकी     
     पौष २१ गते २०८० मा प्रकाशित


विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत

विन्ध्यबासिनी दुई लाख राशीको श्रीपती समाजसेवा पुरस्कारबाट पुरस्कृत

पोखरा, २१ पुस/ श्रीपती समाज सेवा पुरस्कारबाट शनिबार पोखराको विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको छ । पोखराको श्रीपती कोइराला गुठीद्वारा सञ्चालित श्रीपती समाज सेवा पुरस्कार–२०८० बाट विन्ध्यबासिनी मन्दिरको विकाससँगै मानवीय सेवामा समेत समर्पित विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भएको हो ।

श्रीपती कोईराला गुठीको ३१ औं साधारण सभाको अवसरमा समितिलाई पुरस्कार अर्पण गरिएको हो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, गुठीका अध्यक्ष फडिन्द्रराज कोईराला लगायतले विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र सदस्य सचिव तीर्थ श्रेष्ठलाई नगद २ लाख २२ हजार २ सय २२ सहित ताम्रपत्र, दोसल्ला र पदकले सम्मान गरेको हो ।

पुरस्कृत संस्था विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास समिति नेपालको प्रमुख शक्ति पीठहरु मध्यको एक विन्ध्यबासिनी मन्दिरको संरक्षण, विकास, बिस्तार र सौन्दर्यकरणमा खटिदै आएको छ ।

विन्ध्यबासिनी धार्मिक विकास अन्तर्गत बहुउद्देश्यीय सत्संग भवन, विन्ध्यबासिनी वैदिक विद्याश्रमको छात्रवास भवन, सत्य हवन हुने यज्ञ मण्डप र पूजा मण्डप, विन्ध्यावासिनी बौधिक विद्याश्रम, विभिन्न देवी देवताका मठ मन्दिरहरु रहेका छन् । सिमितिले विन्ध्यबसिनी गुरुकुल विद्याश्रम निःशुल्क आवासिय रुपमा संचालन गर्नुका साथै जेष्ठ नागरिक सेवा केन्द्रको रुपमा दिवा सेवासमेत सञ्चालन गर्दै आएको छ ।

विन्ध्यबासिनी धार्मिक क्षेत्र विकास अन्तर्गत प्राकृतिक चिकित्सालय पनि सञ्चालन गर्दै आएको छ । सर्वशुलभ रुपमा एम्बुलेन्स प्रदान गर्नुका साथै शारिरिक असक्षमता भएका नागरिक र जेष्ठ नागरिकका लागि मन्दिर दर्शका लागि लिफ्टसमेत सञ्चालनमा गरेर समाज सेवा गरेका कारण श्रीपती समाज सेवा पुरस्कारबाट सम्मान गरेको गुठीका सदस्य सचिव नवराज कोईरालाले जानकारी दिए ।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखनको क्षेत्रमा काम गर्ने संस्था ‘माईती नेपाल’, महावीर पुनको राष्ट्रिय आविस्कार केन्द्र र सर्लाहीको पद्म भुवनेश्वरी नमूना बृद्ध सेवा आश्रम पुरस्कृत भइसकेका छन् ।

साधारण सभाको अवसरमा शिक्षा क्षेत्रतर्फ विभिन्न तहमा सर्वोत्कृष्ठ ठहरिएका विद्यार्थीहरुलाई श्रीपती विद्या पदक प्रदान गरिएको थियो भने गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिसमेत प्रदान गरिएको थियो ।

श्रीपती कोईराला गुठी १८६४ सालमा जन्मेका श्रीप्रसाद कोईरालाको नाममा स्थापित संस्था हो । विद्वान श्रीपतीले तत्कालीन राजा राजेन्द्र शाहले बकसमा दिएको पोखराका पाँच गाउँ महेन्द्रपुल, गैह्रापाटन, पस्र्याङ, नदीपुर र बास्तोलाथर दिएपछि उनले सामाजिक कार्य गर्न गुठी स्थापना गरेको गुठीका निवर्तमान अध्यक्ष लक्ष्मणप्रसाद कोईरालाले जानकारी दिए ।



Tags: ,