सूर्य दर्शन सहकारी ठगीः थप दुई जना पुर्पक्षका लागि जेल चलान

-


     क्लिक गण्डकी     
     पौष १८ गते २०८० मा प्रकाशित


सूर्यदर्शन सहकारीको रकम हिनामिना

सूर्यदर्शन सहकारी

पोखरा, १८ पुस/ सूर्य दर्शन सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व सञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र भविश्वर अर्याललाई जेल चलान भएका छन् ।

बुधबार कास्की जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । गत भदौ २४ गते पक्राउ पुर्जी जारी भएपछि फरार महेन्द्र र भविश्वर मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए ।

मंगलबार बयान गराएर बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश वसन्तजंग थापाको इजलासले महेन्द्र र भविश्वरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

पोखरामा गितेन्द्र (जीबी) राईको समूहले सञ्चालन गरेको सूर्य दर्शन सहकारी मार्फत बचतकर्ताको रकम अपचलन गरेको उजुरीका आधारमा जीबी, महेन्द्र भोटे सहित १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

सूर्य दर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र उपाध्यक्ष कैलाशकुमार दर्लामी यस अगाडी पुर्पक्षका लागि जेलचलान भएका छन् ।

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ अपचलन गरेको भन्दै मुद्धा दायर भएको छ । सूर्यदर्शन सहकारीविरुद्ध १ हजार ३५ जनाले १ अर्ब ११ करोड ३४ लाख ठगी भएको आरोपसहित जाहेरी दिएका छन् ।