पोखराबाट अन्तराष्ट्रिय उडान गर्न हिमालय एयरलाइन्स तयार
पोखरा, १७ पुस/ पोखराबाट नियमित अन्तराष्ट्रिय उडान गर्न हिमालय एयर लाइन्स तत्पर देखिएको छ । मंगलवार पोखरा पर्यटन परिषदले राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, हिमालय एयर लाइन्सका अध्यक्ष झाओ एनयोग र पोखराका पर्यटन व्यवसायीका बिच भएको अन्तरक्रियामा हिमालयन एयरलाईन्सले त्यस्तो बताएको हो ।
हिमालय एयरलाइन्सका अध्यक्ष झाओ एनयोंगले पोखराबाट अन्तराष्ट्रिय उडान गर्न चिनिया पक्ष, नेपाली पक्ष र एयरलाइन्सले संयुक्त प्रयास गनुपर्ने बताए । हिमालय एयरलाइन्सलाई नेपालमा आन्तरिक उडान गर्ने अधिकार नभएकाले पोखराबाट काठमाडौंबाट खाली जाँदा थप खर्च बेहोर्नुपरेको बताए ।
अध्यक्ष एनयोंगले हिमालयन एयरलाइन्स पोखराबाट नियमित चीन लगायतका अन्य गन्तव्य सम्म पनि उडान गर्न तयार रहेको बताए । उनले विश्वमा बार्षिक रुपमा १० करोड पर्यटकले बाह्य देशमा भ्रमण गर्ने गरेको र त्यसको १ प्रतिशत मात्र नेपाल ल्याउन सम्भव रहेको बताए । अन्तरक्रियाको क्रममा उनले कम्बोडियाले दुई बर्षमा चिनिया पर्यटकको संख्या १० गुणा बढाएर ४० लाख पुरयाएको उदाहरण दिए ।
उनले पोखराको प्राकृतिक सुन्दरता, प्याराग्लाइडिङ लगायतले चिनिया पर्यटकलाई आकर्षित गरेको बताउदै नेपाल सरकारले बिमानस्थलमा लाग्ने विभिन्न शुल्कमा छुट दिएर एयरलाइन्स कम्पनीहरुलाई उडानका लागि आकर्षित गर्नुपर्ने बताए ।
अन्तक्रिया कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना पोखरा अन्तराष्ट्रिय विमान स्थलबाट नियमित उडान गर्न आफुले गरेका मुख्य प्रयासको बारेमा चर्चा गरे । उनले आफु कार्यकारी पदमा नभएकोले निर्णायक कामका लागि सम्बन्धित मन्त्री र प्रधानमन्त्रीले कुटनैतिक प्रयास गर्नुपर्ने बताए ।
कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष्य पोम नारायण श्रेष्ठ, नेपाल पर्यटन बोर्डका पूर्व सदस्यहरु बासुदेव त्रिपाठी, टिकाराम सापकोटा, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष्य चिरन्जीवी पोखेल, महासचिव संजयकान्त सिग्देल, उपाध्यक्ष्य कृष्ण भण्डारी, रेवान पोखराका अध्यक्ष नरेश भट्टराई, टान पोखराका अध्यक्ष धर्म पन्थी, उपाध्यक्ष कृष्ण आचार्य, नाट्टा गण्डकी अध्यक्ष हरेराम अधिकारी लगायतले अन्तराष्ट्रिय उडान छिटो भन्दा छिटो सञ्चालन गर्न सबैले सहयाग गर्नु पर्ने बताएका थिए ।
उनीहरु सबैले नेपाल सरकारलाई पोखराबाट छिटो भन्दा छिटो नियमित अन्तराष्ट्रिय उडान गर्ने नीति र बातावरण बनाउन आग्रह गरेका थिए ।