
पोखरा १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी पुल निमार्णमा ढिलाई
पोखरा, १६ पुस/ पोखरा महानगरपालिका वडा नम्बर १७ र २१ जोड्ने फुर्सेखोलाको दम्सादी घाँट पुल पाँच वर्ष पुग्दा पनि बन्न सकेको छैन ।
तीन वर्षमा नै सक्ने गरी निमार्ण कम्पनीले ठेक्का लिए पनि पाँच वर्ष सम्म पुल सम्पन्न हुने चरणमा छैन । पुल नहुदा वर्षा याममा वारपार गर्न कठिन हुने गरेको छ ।
पुल निमार्ण नहुदाँ सर्वसाधारण दुःख खेप्नु परेको स्थानीय बिनोद पराजुलीले बताए । पुल निर्माणका लागि सम्झौता गरेको ५ वर्ष बितिसक्दा पनि निर्माण हुन सकेको छैन ।
पुल निमार्णका लागि २०७५ साल असार २७ गते २३ करोड ७२ लाखमा निमार्ण सम्पन्न गर्ने गरी सूर्य प्रेयरी एचएम कन्सल्टेन्सि काठमाडौंले ठेक्का लिएको थियो । २०७८ असार २५ मा सक्नुपर्नेमा निमार्ण कम्पनीले पुल अलपत्र पारेको छ ।
निमार्ण कम्पनील २०७५ सालबाट काम थाले पनि अहिले सम्म ७६ प्रतिशत मात्र भौतिक प्रगती देखिन्छ । पहुँचका आधारमा उल्टै निमार्ण कम्पनीले पटक पटक म्याद थपिँदै आएको छ । पुल बन्ने आशामा बसेका पोखरेली समयमै पुल नबन्दा निराश बनेका छन् ।





