
कास्कीलाई मन्त्री नदिएको भन्दै शेरबहादुर देउवालाई गुनासो
पोखरा, ९ माघ/ नेपाली कांग्रेस कास्कीले विभिन्न लाभको पदमा आफ्नो भाग खोजेको छ । मंगलबार भएको जिल्ला सम्मेलनका क्रममा नेताहरूले कास्कीलाई भाग नदिइएकोमा गुनासो गरेका हुन् ।
उपसभापति युवराज कुँवरले मञ्चबाटै केन्द्रीय समितिबाट कास्की कांग्रेसलाई अन्याय भएको गुनासो गरे । प्रदेशको मन्त्रिपरिषद् र राष्ट्रियसभा सदस्यको टिकट वितरणमा कास्कीलाई छुटाइएको उनको आरोप थियो ।
प्रदेश मन्त्रिपरिषद्मा कास्कीबाट एकजना पनि मन्त्री बनाइएको छैन । राष्ट्रियसभामा टिकट किन दिइएन ?, उनले प्रश्न गरे, आगामी दिनमा यस्तो नहोस् । कुँवरले जिल्लाका नेताहरू एकले अर्कालाई अवसरबाट वञ्चित गराउन लागेको भन्दै सुध्रिन सुझाव समेत दिए ।
जिल्ल सम्मेलनमा नेपाली कांग्रेस कास्कीले पार्टीका क्रियाशील सदस्यता खारेज गर्न प्रस्ताव गरेको छ । सभापति किशोरदत्त बरालले प्रस्तुत गरेका राजनीतिक प्रतिवेदनमा क्रियाशील सदस्यता खारेजीको प्रस्ताव गरेका हुन् । पार्टी निर्माणका लागि उनले १९ बुँदामा सुझाव सहितको प्रस्ताव पेस गरेका छन् ।
पार्टीभित्र एउटै पदमा धेरै पदाधिकारी रहने विधान संशोधन हुनुपर्ने उनको सुझाव छ । उपसभापति, महामन्त्री, सहमहामन्त्री लगायत पदमा एक जना मात्रै हुनुपर्ने उनले सुझाए ।
त्यसको जवाफमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैको विरोध गरेर पार्टी नबन्ने बताउदै जनताको मन जित्ने काम गर्न आग्रह गरे ।
सभापति देउवाले जनतानै देशको मालिक भएका कारण जनतामा जान कार्यकतालाई आग्रह गरे । उनले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले गठबन्धन बनाउनु बाध्यता रहेको बताए । कार्यक्रममा गठबन्धन गर्न नहुने आवाज उठे पछि देउवाले गठबन्धन नगरीकन जित्ने पार्टी बनाउन आग्रह गरे ।





