बाह्रौ पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता हुने
पोखरा/ रवि एण्ड सन्नी इण्डष्ट्रीज प्रालिको उत्पादन बेटर होम एपलायन्सेसको मुख्य प्रायोजन रहेको बाह्रौं पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको छ । यूनाइटेड क्लवको आयोजनामा पुषको २६ देखी माघको ८ गते सम्म आयोजना हुने बाह्रौं संस्करणको पोखरा महोत्सवमा विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता हुने भएको हो ।
लोक संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नका लागि यूनाइटेड क्लबले महोत्सवको अवसर पारि विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिताको आयोजना गर्न लागेको महोत्सवका सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजक गणेश तिमिल्सिनाले जानकारी दिए ।
संयोजक तिमिल्सिनाका अनुसार विद्यालय स्तरीय लोकनृत्य प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई नगद ३५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुनेलाई नगद २५ हजार र शान्तवना स्थान हासिल गर्नेलाई नगद १५ हजार प्रदान गरिने छ । लोकनृत्य प्रतियोगिताका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको विशेष सहयोग रहने छ ।