
पोखरामा मध्येरातमा कारको ठक्करले २ जनाको मृत्यु
पोखरा, १२ पुस/ पोखरामा दुई साताको अन्तरमा चार जनाको सडक दुर्घटनामा मृत्यु भएको छ । सोमबार मध्यरातमा कारको ठक्करबाट पोखरा महानगरपालिका–५ प्रस्याङमा दुई युवकको मत्यु भयो ।
त्यसअघि गत मंसिर २४ मा पोखरा–२६ सुन्दरी बजारमा कारले स्कुटरलाई ठक्कर दिंदा स्कुटरमा सवार दुई युवतीको मृत्यु भयो ।
पोखरा–बागलुङ राजमार्गको जिरो किमीदेखि हरिचोक खण्डमा मात्र गत साउनयता सवारी दुर्घटनामा ६ जनाले ज्यान गुमाएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिए । यी प्रतिनिधि घटनाले पोखरामा बढ्दो सवारी दुर्घटनाको अवस्थालाई देखाउँछ ।
यसरी लगातार जसो भइरहेका सवारी दुर्घटनाले सडक सुरक्षामा प्रश्न उठ्न थालेको छ । सार्वजनिक यातायातमा देखिएको असुरक्षाप्रति सर्वसाधारण त्रसित छन् । सडक दुर्घटना न्यूनीकरण नभएकामा जनगुनासो पनि बढ्दो छ । पोखरा महानगर र राजमार्ग क्षेत्रमा बढी दुर्घटना हुने गरेको प्रहरी निरीक्षक शर्माले बताए ।
‘दुर्घटनाको मुख्य कारण सवारीसाधनको तीव्र गति हो, चालकले मादक पदार्थ सेवन गरेका कारण पनि सवारी दुर्घटना हुने गरेको छ’, उनले भने, ‘पर्याप्त सडक बत्ती नहुँदा पनि रातिमा दुर्घटनाको जोखिम बढेको छ, कमसल सडक, यान्त्रिक गडबढी, जभाभावी पार्किङजस्ता कारणबाट पनि दुर्घटना निम्तने गरेको छ ।’
जिरो किमीदेखि हरिचोक हुँदै हेम्जा जोड्ने सडक चार लेन भएपछि तीव्र गतिका कारण धेरै दुर्घटना भएको प्रहरी निरीक्षक शर्माले बताए ।
सोही खण्डमा सोमबार राति दुई जना युवकको ज्यान जाने गरी भएको दुर्घटना र त्यसअघि सुन्दरीबजारमा भएको दुर्घटनाले ट्राफिक प्रहरीलाई समेत सचेत बनाएको उनले उल्लेख गरे ।
चौडा र स्तरीय सडकमा चालकले सवारीसाधन तीव्र गतिमा गुडाउँदा दुर्घटना हुने गरेको प्रहरी निरीक्षक शर्माले बताए ।