पोखरामा ५ वटा सहकारीको करिब ३ अर्ब जोखिममा

-


     क्लिक गण्डकी     
     पौष १२ गते २०८० मा प्रकाशित


पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य । तस्बिरः सागर राज तिमिल्सिना

पोखरा महानगरपालिका वडा नम्बर १८ सराङकोटबाट देखीएको फेवाताल र पोखराको दृश्य

पोखरा, ११ पुस/ पोखराबाट सञ्चालमा रहेका ५ वटा सहकारीमा मात्रै झण्डै ३ अर्ब रुपैयाँ जोखिममा परेको छ । करिब ३७ हजार बचतकर्ताले जम्मा गरेको २ अर्ब ९७ करोड ११ लाख जोखिममा परेको हो ।

सबैभन्दा धेरै सूर्यदर्शन सहकारीको १ अर्ब ३५ करोड, इमेज सहकारीको करिब ६५ करोड, शिव शिखर सहकारीको ५४ करोड ९४ लाख, मित्रमिलनको ३१ करोड ७८ लाख र बलिदानीको १० करोड ६९ लाख रुपैयाँ जोखिममा परेको हो ।

सूर्यदर्शन सहकारीले करिब १९ हजार बचतकर्ताको १ अर्ब ३५ करोड ५३ लाख रुपैयाँ जोखिममा पारेको छ । सूर्यदर्शन सहकारीका १९ जनालाई पक्राउ पुर्जी जारी गरिएकोमा १ जनामात्रै पक्राउ परेका छन् । सहकारीका सञ्चालक र कर्मचारीहरु केही पक्राउ परेका छन् भने केही फरार छन् । फरार रहेकालाई प्रहरीले पक्राउ पुर्जि जारी गरेको छ ।

इमेज सहकारीले झण्डै ६५ करोड रुपैयाँ जोखिममा पारेको छ । प्रहरीले १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेकोमा ६ जना पक्राउ परिसकेका छन् । शिव शिखर बहुउद्देश्यीय सहकारी संसथामा ७ हजार १ सय ७० जना बचतकर्ताले ५४ करोड २३ लाख जम्मा गरेका छन् । यो सहकारीका ११ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा ४ जना पक्राउ परिसकेका छन् ।

मित्रमिलन सहकारीले ३ हजार ४ सय ४६ बचतकर्ताको ३१ करोड ७८ लाख माग दाबीसहितको प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा पेस गरेको छ । सहकारीका ७ सय १४ जनाले २० करोड ५० लाख ठगिएको आरोप लगाएका छन् । सहकारीका ३२ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ५ जना चाहिँ पक्राउ परेका छन् ।

बलिदानी बचत तथा ऋण सहकारी संस्थाले ६ हजार ३ सय ४५ जना बचतकर्ताको १० करोड ६९ लाख डुबाएको छ । १ सय ९८ जनाले आफ्नो ४ करोड २८ लाख ठगी भएको उजुरी दिएका छन् । १५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोमा हालसम्म ५ जना पक्राउ परिसकेका छन् ।

पोखरा महानगरमा रहेका सहकारीको लगानी छुट्टै छ । यहाँका सहकारीको सेयर पुँजी ७ अर्व ४२ करोड छ भने १६ अर्व १९ करोड बचत छ । महानगरको विवरण अनुसार यी सहकारीले १९ अर्ब २२ करोड लगानी गरेको देखिन्छ । यहाँका सहकारीमा १ लाख ८८ हजार ८२७ जना सेयर सदस्य छन् । महानगरका सहकारी समितिका अध्यक्ष रविरमण तिवारी केही सहकारी पहिलेदेखि नै समस्यामा फसेको बताउँछन् ।

गण्डकी र पोखरामा कार्यक्षेत्र रहेका सूर्यदर्शन, इमेज, शिवशिखर, मित्रमिलन सहित लमजुङको कालिका, पर्वतको तपाईं हाम्रो र ग्रामीण विकास सहकारी समस्या ग्रस्त अवस्थामा छन् । उनीहरुलाई अनुसन्धान गरी थप प्रक्रिया अघि बढाइएको सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले बताए ।

गण्डकी प्रदेशभरि १३ सयभन्दा बढी सहकारी छन् । तीमध्ये ३ सय ६८ वटा पोखरा महानगरपालिकामा मात्रै छन् । ९ सय ४३ वटा सहकारीको नियमनचाहिँ सहकारी रजिष्ट्रार कार्यालय गण्डकी प्रदेशले गर्छ । तर ४ सय ३५ सहकारी मात्रै सम्पर्कमा रहेका रजिष्ट्रार भेषराज रिजालले बताए । पिडितहरुले समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय, रजिष्ट्रारको कार्यालय धाइरहेका छन् ।

गण्डकी प्रदेशका सहकारीमा १२ अर्ब ४ करोड ६३ लाख शेयर पुँजी छ भने ५८ अर्ब ४९ करोड बचत देखिन्छ । उनीहरुले ऋण भने ६४ अर्व ५० करोड लगानी गरेका छन् । २ अर्ब ३२ करोड शेयर लगानी गरिएको छ । ५ लाख ८५ हजार १ सय ८२ नागरिक सहकारीको सदस्य बनेका छन् ।

पोखरा महानगरमा रहेका सहकारीको लगानी छुट्टै छ । यहाँका सहकारीको सेयर पुँजी ७ अर्व ४२ करोड छ भने १६ अर्व १९ करोड बचत छ । महानगरको विवरण अनुसार यी सहकारीले १९ अर्ब २२ करोड लगानी गरेको देखिन्छ । यहाँका सहकारीमा १ लाख ८८ हजार ८२७ जना सेयर सदस्य छन् ।