
पत्रकारलाई रचनात्मक हुन पूर्व प्रधानमन्त्री देउवाको सुझाब, तीन पत्रकारलाई तीन लाखको पुरस्कार
पोखरा, ४ पुस/ नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पत्रकारहरुलाई रचनात्मक समाचारहरुमा ध्यान दिन आग्रह गरेका छन् ।
पोखरामा कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान कार्यक्रममा बोल्दै देउवाले समाचार माध्यमहरुलाई रचनात्मक र आलोचनात्मक समाचारलाई प्रथामिकता दिन आग्रह गरे । उनले सञ्चार माध्यमलाई ब्याड न्युज इज गुड् न्युज हो तर पनि त्यसलाई छाडेर रचनात्मक हुन आग्रह गरे ।
पुरस्कार प्रदान गर्दै कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश र लोकतन्त्रको रक्षाका लागि पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । उनले नेपाल पत्रकार महासंघ पूर्व अध्यक्ष डा. सुरेश आचार्य र पत्रकार महासंघ कास्की शाखाका पूर्व अध्यक्ष माधव शर्मा, कृष्ण बास्तोलालाई जनही १ लाख ११ हजार १११ र ताम्रपत्रसहित सम्मानित गरे ।
पूर्व सांसद, पोखराका वरिष्ठ उद्योगपति एवं समाजसेवी सूर्यबहादुर केसीको परिवारजनले स्थापना गरेको सूर्यप्रेम बद्देश्यीय समाजसेवा ट्रस्टद्वारा कीर्ति स्मृति पत्रकारिता वृत्ति प्रदान गर्दै आएको छ । सो पुरस्कार नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गर्दै आएको छ ।
२०७३ सालदेखि वितरण सुरु उक्त सम्मान कोरोनाका कारण ३ वर्षदेखि रोकिएकोमा यसपालि क्रमशः वर्ष २०७७ का लागि डा. आचार्य, वर्ष २०७८ का लागि शर्मा र वर्ष २०७९ का लागि बास्तोलालाई प्रदान गरिएको हो ।
पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीको अध्यक्षतामा भएको समारोहमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशीला सिंखडा, नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्साल, प्रतिभा छनोट समितिका संयोजकहरु पुण्य पौडेल र ब्रदीविनोद प्रतीक, सम्मानित ती व्यक्तित्वहरु, पुरस्कार स्थापना गर्ने ट्रष्टका तर्फबाट किरण केसी, महासंघ कास्की उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल लगायतले पत्रकारको हकहित एवं स्वतन्त्रका बारे चर्चा गरेका थिए ।





