
नेपालगञ्ज, १ पुस / सिमावर्ती भारतीय नाकाबाट नेपाल प्रवेश गर्ने क्रममा पर्यटकले विभिन्न खाले झ्न्झट र हैरानी ब्यहोर्नु परेको सरकारी तथा निजी क्षेत्रबाट गुनासो गरिएको छ ।
होटल संघ पोखरा नेपाल र नेपाल पर्यटन बोर्ड गण्डकीको संयुक्त आयोजनामा पश्चिम नेपालमा जारी जाउँ है पोखरा अभियानको तेश्रो दिन आइतबार बाँकेको नेपालगंजमा आयोजित कार्यक्रममा सरकारी तथा निजी क्षेत्रबाट त्यस्तो गुनासो सुनाइएको हो ।
नेपालगंज उपमहानगरपालिकाका कार्यवाहक प्रमुख कमरुद्दीन राईले नेपाल आउने क्रममा रुपेडिया नाकामा समेत सुरक्षा र भंसार चेकजाँचको क्रममा भारतीय पर्यटकलाई अनाबश्यक दुःख दिने गरिएको बताए ।
नेपाली पक्षबाट पटक पटक चेकजाँच गर्ने र आबश्यक भन्दा बढी चेकजाँच गर्दा पर्यटकले हैरानी ब्यहोर्नु परेको उनले सुनाए । एक सय भन्दा ठूलो दरका भारतीय नोट नेपालमा चलाउने कुटनीतिक पहल नगर्दा समेत भारतीय पर्यटकले कठिनाई भोग्नु परेको उपप्रमुख राईले बताए । नेपालीले थोरै मात्रामा घरायसी उपभोगमा सामग्री ल्याउँदा पनि नेपाली पक्षबाटै दुःख दिने गरिएको राईले बताए ।
नेपालगंज उद्धोग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी वलीले सिमा नाकामा भारतीय पर्यटकलाई विभिन्न बाहनामा आतंकित पार्ने गरिएको बताए । एक ठाउँमा पर्यटकको चेकजाँच गरेपछि पटक पटक त्यस्तो नगर्न उनले आग्रह गरे ।
आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले नेपालगंज पोखरा हवाई उडानले पर्यटनमा सकारात्मक प्रभाव परेको बताउँदै यसलाई नियमित रुपमा संचालन गर्नु पर्ने सुझाव राखे । स्तरीय बससेवाबाट समेत दुई शहर जोडिनु पर्ने उनको भनाई थियो ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले नेपाल भारत सिमा नाकामा भारतीय पर्यटले भोग्नु परेको हैरानीबारे नेपाल सरकारलाई जानकारी गराइएको बताए । नेपालगंज र पोखराविचको हवाई सेवा विस्तार र स्तरीय बस सेवाको सुरुवातका लागि समेत उनले जोड दिए ।
नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले नेपाल बस्ने नेपालीको संख्या घट्दै गएको स्मरण गराउँदै सिमावर्ती भारतीय शहरमा नेपाली पर्यटनको प्रचारप्रशार गरिनुपर्ने सुझाव राखे । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका वरिष्ठ अधिकृत कुन्दन मिश्रले नेपाल पर्यटन बोर्डले पर्यटन प्रबर्द्धन कार्यमा जोड दिंदै आएको स्मरण गराए ।
होटल ब्यबसायी महासंघ लुम्बिनीका अध्यक्ष भाष्कर काफ्ले, पत्रकार झलक गैह्रे र नेपालगंजका बासिन्दा कृष्णप्रसाद श्रेष्ठले पनि कार्यक्रममा भनाई राखेका थिए ।





