
पोखरामा अबैध रुपमा प्राकृतिक दोहन गर्ने ५६ वटा सवारी साधन नियन्त्रणमा
पोखरा, २६ मंसिर/ पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा तस्करी गरेका ५६ वटा सवारी साधनलाई कास्की प्रहरीले नियन्त्रणमा लिएको छ ।
महानगरभित्र रहेका खोलाहरूबाट तस्करी गरिरहेका अवस्थामा विशेष अपरेसनमार्फत् सवारी नियन्त्रण गरेको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले बताए ।
पोखरा महानगरभित्र रहेका घाटहरूमा गत वर्षदेखि नै ठेक्का लाग्न सकेको छैन । घाटहरूमा थुप्रिएका ढुंगा, गिटी र बालुवाको ठेक्का नलागे पनि गत वर्षदेखि नै अवैध उत्खनन् भइ रहेको थियो ।
नियन्त्रणमा लिइएका ट्रक, टिपर, ट्र्याक्टर लगायत सवारीले ढुंगा, गिटी, बालुवा लगायत नदीजन्य पदार्थ उत्खनन् गर्ने अनुमति नपाएको, भ्याटबिल नभएको र नक्कली बिल बनाएर ओसारपसार गरेको पाइएको एसपी थापाले बताए ।
महानगरको आर्थिक ऐन २०८० ले नदीजन्य पदार्थ ओसार पसार गर्ने सवारी साधनलाई १२ हजारदेखि ५० हजारसम्म जरिवाना हुने उल्लेख छ ।





